Comments Add Comment

सरकारी कार्यालयमा भीड : मास्क छ, दूरी कायमकाे सम्भावनै छैन

१२ चैत, काठमाडौं । पछिल्ला केही दिनमा निरन्तर बढेको कोरोना संक्रमणको तथ्यांकले सर्वसाधारणमा फेरि त्रास थपेको छ । आइतबार देशभर ३१२२ जनामा कोरोना संक्रमित भेटिँदा काठमाडौं उपत्यकामा १४९८ जनामा संक्रमण देखिएको छ ।

संक्रमण अत्यधिक बढेपछि स्वास्थ्य मापदण्ड पालनामा भने प्रधानमन्त्री, मन्त्री, ठूला नेतादेखि सर्वसाधारणसम्मले बेवास्ता गरेका छन् । काठमाडौंका सरकारी कार्यालयमा पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा बेवास्ता गरिएको छ ।

आइतबार डिल्लीबजारस्थित मालपोत कार्यालय पुग्दा विगतमा भन्दा सेवाग्राही केही घटेको देखियो । निमित्त कार्यालय प्रमुख विष्णुबहादुर कार्कीका अनुसार केही दिनयता सेवाग्राही घटेकाले केही सहज भएको छ ।

६ तलाको यो कार्यालयमा भुई तल्लादेखि भिड नै सुरु हुन्छ । माथिल्लो तलामा प्रवेश गर्ने साघुँरो बाटो भएका कारण पनि भिड देखिन्छ । कार्यालयको पहिलो तल्लामा राष्ट्रिय वाणिज्य बैंकको काउन्टर छ । काउन्टर अगाडि मानिसहरुको ठूलो समूह जम्मा भएको थियो । बाहिर रहेको सोफामा खचाखच मान्छे भरिएका छन् । त्यहाँ बस्नेहरुले मास्क लगाएका छन्, तर दूरी कायम हुने सम्भावना छैन ।

‘हामी मास्क अनिवार्य गरेका छौं, स्यानिटाइजर पनि व्यवस्था गरेका छौं तर यो भौतिक दूरी कायम गराउन भने समस्या परेको छ’ निमित्त कार्यालय प्रमुख कार्कीले भने, ‘यहाँ मुख्य समस्या भनेको दूरी कायम गराउनु नै हो, सेवाग्राहीहरु आफैं सचेत हुनुपर्ने तर उहाँहरु हुनु भएन ।’

गत वर्ष लकडाउनकै बीच कार्यालय खुला गर्दा कार्यालयले बार अनुसार वडा विभाजन गरी सेवा दिएको थियो । तर अहिले त्यस्तो व्यवस्था गरिएको छैन । ‘अन्य सावधानी त हामीले अपनाएका छौं, तर पहिलेको जस्तो कुन बार कुन वडाका सेवाग्राहीलाई सुविधा दिने भनेर छुट्याएका छैनौं’ उनले भने, ‘माथिबाट त्यस्तो निर्देशन आए कार्यान्वयन भइहाल्छ ।’

उनका अनुसार अहिले कार्यालयमा धेरै मोही बाँडफाँटको सेवा लिने सेवाग्राहीहरु धेरै छन् ।

यसबाहेक बैंकबाट ऋण लिन घरजग्गा धितोमा राख्नेहरु पनि दृष्टि बन्धकका लागि धेरै आउने गरेका छन् । जग्गा पासका लागि भने कम मात्रै सेवाग्राही आएका छन् ।

आइतबार नै आन्तरिक राजश्व कार्यालय पुतलीसडकमा पुग्दा खासै भिड देखिएन । कार्यालय प्रमुख डोलेन्द्रप्रसाद शर्मा अहिले भिड हुने समय नभएको बताउँछन् । कार्यालय साँघुरो ठाउँमा भएका कारण ठूलो भीड भए निकै समस्या पथ्र्यो । तर अहिले सेवाग्राहीहरुको संख्या कम भएका कारण त्यस्तो समस्या झेल्नु नपरेको उनको भनाइ छ ।

‘हामीले मास्क अनिवार्य गरेका छौं, गेटमै स्यानिटाइजर पनि राखिएको छ’ शर्माले भने, ‘सकेसम्म भौतिक दूरी पालना गर्न लगाएका छौं, सेवाग्राहीको संख्या कम भएका कारण पनि त्यस्तो ठूलो समस्या छैन ।’

आन्तरिक राजश्व विभागका महानिर्देशक झक्कप्रसाद आचार्य धेरै काम अनलाइनबाटै हुने भएका कारण कर कार्यालयमा पहिलेको जस्तो भीड नहुने बताउँछन् ।

‘अहिले पुतलीसडक वा बानेश्वरको कार्यालयमा मात्रै नभएर सबै कर कार्यालयहरुमा भीड कम छ, महानिर्देशक आचार्यले भने, ‘घरबाटै सेवा पाउने भएपछि कार्यालय धाउने पर्ने बाध्यता हटेको छ, कोरोनाबाट जोगिन पनि मद्दत पुगेको छ ।’

‘भौतिक दूरी त सम्झिनै मात्रै’

भक्तपुरबाट आएका रवि डंगोल कार्यालयमा केही घण्टा बिताए । मास्क लगाइरहे पनि मनमा स्वास्थ्य मापदण्डमा पर्ने भौतिक दूरी भने उनले चाहेर पनि पालना गर्न सकेनन् ।

‘धेरै ठूलो ठाउँ र थोरै मान्छे भए पो सम्भव थियो, यतिधेरै मान्छेहरु छौं अनि ठाउँ थोरै छ’ उनले भने, ‘दूरी कायम त यहाँ सम्भव नै छैन, सम्झिने मात्रै हो ।’

अर्का सेवाग्राहीले भने कोरोनाको खासै मतलव नै नभएको सुनाए । कोरोना संक्रमित बढेको दिनदिनै समाचार आउँदा अलिअलि डर लागेको उनले सुनाए । यस्ता समाचार नै नआए बरु त्रास पनि नहुने उनले बताए ।

अर्का सेवाग्राही हरिओम शर्मा सर्वसाधारणमै चेतनाको कमी भएको बताउँछन् । सरकारी कार्यालयमा आएपछि भिड हुने भए पनि सबैले हतार नगर्ने हो भने संक्रमणबाट बच्न सकिने उनी बताउँछन् । ‘यहाँ मैले मात्रै चाहेर पनि हुँदैन, सबै सचेत हुनुपर्ने हो’ उनले भने, ‘एउटा लाइनमा बसेको छ, उससँगै टाँसिन अर्को पुगिहाल्ने अनि कसरी हुन्छ दूरी कायम ?’

तस्वीर र भिडियो : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment