Comments Add Comment

गण्डकी संक्रामक अस्पताल : कोरोनाका गम्भीर बिरामीलाई पनि छैन बेड

चिकित्सक भन्छन् : भेरी अस्पतालको अवस्था आउन सक्छ

१३ वैशाख, पोखरा । स्याङ्जा वालिङकी एक महिलामा शनिबार लक्षणसहित कोरोना संक्रमण देखियो । अक्सिजनको मात्रा कम भएपछि अस्पताल भर्ना गर्नुपर्ने भयो । गण्डकी प्रदेशभरिमा कोरोना संक्रमित बिरामी राख्ने एकमात्र अस्पताल हो, संक्रामक तथा सरुवा रोग अस्पताल ।

बिरामीका आफन्तले अस्पतालमा फोन गरेर अवस्था बताए, तर अस्पतालले बेड उपलब्ध गराउन नसक्ने जानकारी गरायो । बिरामीको आफन्तले हारगुहार गरे । ‘आईसीयूमा राखेर उपचार गर्नुपर्ने भएपछि बल्लतल्ल बेड मिल्यो’,बिरामीकी आफन्त वालिङकी एक नर्सले भनिन् ।

स्वस्थ्यमा समस्या भएपछि अस्पताल पुगेकी पोखरा लामाचौरकी एक गर्भवती महिलामा कोरोना संक्रमण देखियो । श्वास फेर्न गाह्रो हुँदा भएको अवस्थामा उनलाई अरु अस्पतालले भर्ना लिएन र आफन्तले संक्रामक तथा सरुवा रोग अस्पताल पुर्‍याए । अस्पताल पुर्‍याउँदा उनको अवस्था नाजुक भइसकेको थियो ।

गण्डकी प्रदेश सरकार मातहतको यो अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनले भने, ‘धन्न बेड खाली थियो र उपचार थाल्यौं । अरु अस्पतालले अक्सिजनसमेत लगाइदिन मानेनछन् । अहिले अवस्था सुधारोन्मुख छ ।’

पेटमा जुम्ल्याहा भएकी गर्भवती श्रीमतीलाई श्वास फेर्न गाह्रो हुँदा लामाचौरकै मातृशिशु अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानको पश्चिमाञ्चल अस्पतालले अक्सिजनसम्म नदिएको उनका श्रीमानले दुखेसो पोखे । ‘उपचार त गरेनन् नै, श्वास फेर्न गाह्रो भयो अक्सिजनसम्म लगाइदेऊ न भन्दा पनि पाइएन,’ उनका श्रीमानले भने, ‘यस्तो दुख सास्ती अरुले खेप्न नपरोस् ।’

****

लेखनाथ तालचोकदेखि बेगनास ताल जाने सडकको बीचतिर पर्ने मोहोरियामा बाँयापट्टी छ, प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पताल । मोहोरियामा रहेको यो ३ तले अस्पताल गण्डकी प्रदेशभरिकै कोरोना संक्रमित बिरामी राख्ने अहिले एकमात्र सरकारी अस्पताल हो । कोरोनाका मात्र बिरामी राखिने भएकाले धेरै भीडभाड छैन । आइतबार अस्पताल पुग्दा प्रांगणमा बिरामी भेट्न पुगेका आफन्तहरु थिए ।

अस्पताल भवनको च्यानल गेटबाट भित्र छिरेपछि रिसेप्सनमा दुई युवाले बेड खोज्दै सोधपुछ गरिरहेका थिए । पोखराकै एक निजी अस्पतालमा उपचाररत भाइलाई कोरोना संक्रमण देखिएकाले यहाँ सार्न बेड छ कि छैन भन्ने उनीहरुको चासो थियो । डा. अञ्जन तिवारीले तत्काल बेड नभएको बताए ।

‘उहाँहरु बेड खोज्न आउनुभएको छ । एकछिनमा अरु आउनुहुन्छ, सबैलाई यहाँ धान्न सकिँदैन,’ डा. तिवारीले भने, ‘बेलैमा सरकारले सोचेन भने नेपालगञ्जतिर जस्तो भएको छ, यहाँ पनि त्यस्तै हुन्छ ।’

गण्डकी प्रदेशका सबै जिल्ला अस्पतालमा पहिले कोरोनाको विरामी राखिन्थ्यो । मध्य फागुनमा गण्डकी प्रदेश सरकारले ११ वटै जिल्लाबाट उपचार गराउन संक्रामक अस्पतालमै ल्याउने निर्णय गर्‍यो । वागलुङको धौलागिरि अस्पतालसहित सबै अस्पतालमा अन्य बिरामीको उपचार गर्ने र गम्भीर कोरोनाको बिरामीलाई प्रदेश संक्रामक अस्पतालमा ल्याउने सरकारको निर्णय थियो ।

संघीय सरकार मातहतको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्र पनि बन्द भइसकेको छ ।

यही बेला संक्रमण ह्वात्तै बढेको छ र, संक्रामक तथा सरुवा रोग अस्पतालले बिरामीको चाप धान्ने अवस्था छैन ।

अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचन भन्छन्, ‘बेड खोज्दै दिनकै १५/१६ जनाको तारन्तार फोन आइरहन्छ तर राख्ने क्षमता नै छैन । यस्तै अवस्था हो भने अभाव थेग्न सकिन्न ।’

तीन दिन अगाडिसम्म २० देखि ३० जनासम्म बिरामी थिए, अहिले ४७ जना बिरामी पुगिसके । यति नै संख्यालाई फर्काउनु परिरहेको छ । ‘यस्तो परिस्थितिमा संक्रामक अस्पतालमा मात्र आइसोलेसन बेड राखेर हुँदैन । अरु अस्पतालले आलटाल गरिरहेको छ,’ मनिटरिङ रुमबाट कोरोना बिरामीको मनिटरिङ गरिरहेका डा. अप्टिक्स सापकोटाले भने, ‘बिरामीले फोन गर्दै बेड सोध्छन् तर खाली नै छैन । हामीमाथि मात्रै भर पर्ने हो भने आफ्नै आँखा अगाडि भयावह अवस्था आउँछ ।’

डा. अप्टिक्सले यसो भन्दा गर्दा फोन बज्छ । फोन उठाएका उनले जवाफ फर्काउँछन्, ‘बेड त छैन नि दाइ । सबै प्याक छ ।’ स्याङ्जाबाट बेड खोज्दै आएको फोन रहेछ । तर उनीसँग छैन भन्नुबाहेक विकल्प छैन ।

प्रदेश संक्रामक अस्पताल ५० बेडको भनिए पनि ४७ बेडमात्र सञ्चालनमा छ । आईसीयू छ, तर चलाउने जनशक्ति नहुँदा बन्द छ । ९ बेडको आईसीयू चलाउन कम्तीमा ३७ जना जनशक्ति चाहिन्छ, तर अस्पतालभरिमा जम्मा ३८ जना जनशक्ति छ । त्यसैले आईसीयूमा पनि अन्य खालका बिरामी राखिएको छ । ‘जनशक्ति हुनुपर्ने कति हो भनेर कायम गर्न व्यवस्थापन समितिसमेत गठन हुन सकेको छैन । राजनीतिक कारणले समिति बन्न नसकेको सुनिन्छ,’ डा. अप्टिक्सले  सुनाए, ‘एक त अब यो अस्पतालले धान्दैन, अर्को आवश्यक जनशक्ति नै छैन ।’

जनशक्ति अभाव भएको डा. अप्टिक्सको तर्कमा सहमत कार्यकारी निर्देशक डा. गौचन भन्छन्, ‘दिनकै १५/१७ जनाले बेड खोजिरहेका छन् । तर पहिले फिट गरिएका बेडसमेत चलाउन सक्ने अवस्था छैन ।’

उनले अघि भने, ‘१ सय ५० जना जनशक्ति चाहिन्छ । सबैभन्दा बढी नर्सिङको टिम पुगेको छैन, ल्याब, फार्मेसी, रेडिग्राफर पनि कम छ । चिकित्सक पनि २४ सै घण्टा खटिएका छन् । साह्रै दुख छ ।’

संक्रमितलाई जिल्ला–जिल्लामै राख्छौं : शर्मा

प्रदेशको संक्रामक अस्पताल बिरामीले भरिइसक्यो । पोखराका चरक मेमोरियल, गण्डकी मेडिकल कलेज र फिस्टेल हस्पिटलले कोरोनाका बिरामीको उपचार गर्ने गरे पनि सामान्य नागरिकको क्षमताभन्दा महंगो छ । अरु अस्पतालले कोरोनाका बिरामीको भर्ना समेत नलिएर ज्यानै जाने दुखद् उदाहरण पोखरामै छन् । तर सरकारले भने अहिलेसम्म यसको विकल्प खोजेको छैन ।

स्वास्थ्य निर्देशक शर्मा भने गण्डकीका ११ जिल्लाका कोरोना बिरामीको उपचार पोखरामा मात्र गर्ने निर्णय परिवर्तन गर्ने तयारी भइरहेको बताउँछन् । उनका अनुसार वागलुङको धौलागिरि अस्पताल र अरु जिल्लाका पनि जिल्ला अस्पतालमा आइसोलेसन चलाइनेछ भने प्रदेश संक्रामक अस्पताललाई अन्यन्त्रबाट पनि त्यहाँ जनशक्ति खटाइनेछ ।

उनले भने, ‘अब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पनि आइसोलेसन तयार गर्दैछौं ।’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नयाँ भवनमा आइसोलेसन चलाउने तयारी गरिएको छ । ‘२ सय बेडसम्म आइसोलेसन बनाउन सकिने नयाँ भवन छ । त्यहाँ गम्भीर खालका बिरामीको उपचार गर्ने प्रवन्ध मिलाउँछौं,’ डा. शर्माले भने ।

संक्रामक अस्पताल भरिएपछि तत्काल ५० बेडको आइसोलेसन चलाउने तयारी गरिएको प्रतिष्ठानका सूचना अधिकारी नारायण आचार्यले जानकारी दिए । जहाँ ८ बेडको आईसीयू हुने छ ।

तीव्र गतिमा बढे संक्रमित

संक्रामक रोग अस्पतालका कार्यकारी निर्देशक डा. गौचनका अनुसार माघ, फागुन र चैतमा बिरामी घटिरहेका थिए । वैशाखको पछिल्लो एक हप्तादेखि बिरामी बढेका छन् । गण्डकी प्रदेशमा सातामै दोब्बरको अनुपातले कोरोना संक्रमणको दर बढिरहेको छ । एक हप्ताअघिसम्म प्रदेशमा संक्रमितको संख्या २५८ थियो । प्रदेशभर अहिले ८८० जना कोरोना संक्रमित छन् । तीमध्ये ६३८ जना त कास्कीमै मात्र छन् ।

पछिल्लो एक हप्तामा मात्र ५७२ जनामा कोरोना संक्रमण देखिँदा शनिबारदेखि आइतबारसम्मको २४ घन्टामा १६३ जना संक्रमित देखिएका छन् । पछिल्लो २४ घन्टामा कास्कीमामात्र १२४ जना संक्रमित थपिए । ‘तथ्यांक डरलाग्दो दरले उकालो लागिरहेको छ । बेलेमै सचेत भइएन भने भयावह आउन सक्छ,’ प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले भने, ‘सरकारीस्तरबाट गर्ने तयारी सरकारले गर्दै जान्छ तर नागरिकको तहबाट पनि सचेत र सजग हुनुपर्‍यो ।’

गण्डकीमा आइतबारसम्म १७ हजार ७३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १६ हजार ६४६ जना निको भएको र २११ जनाको मृत्यु भएको छ ।

लकडाउन हुन सक्छ : सिडिओ

सरकारले ५ सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्लामा निषेधाज्ञा जारी गर्न सक्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ । कास्कीमा मात्र ६ सय ३८ जना सक्रिय संक्रमित पुगिसकेका छन् । संक्रमितको दर पनि तीव्र गतिमा बढिरहेकाले कास्कीमा निशेधाज्ञा जारी हुन सक्ने अनुमान धेरैको छ । तर, स्थानीय प्रशासन भने केन्द्रको चिठी पर्खिएर बसेको छ ।

५ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा स्थानीय प्रशासनले निशेधाज्ञा जारी गर्न सक्ने निर्णय आफूले सुनेको भए पनि पत्र नआइपुगेको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए ।

‘गृह मन्त्रालयले सर्कुरल पनि गर्ला । जिल्ला संकट व्यवस्थान केन्द्र (डीसीसीएमसी) को पनि बैठक बस्दैछौं,’ सिडिओ गौतमले भने, ‘लकडाउन गर्ने, नगर्ने बारे छलफल गरेर अगाडि बढ्छौं ।’

कास्कीमा निषेधाज्ञा जारी हुनसक्ने सिडिओ गौतमको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment