Comments Add Comment

संक्रमितले भरियो कर्णाली प्रदेश कोभिड अस्पताल, अक्सिजन अभाव

१३ वैशाख, सुर्खेत । कोरोनाको दोस्रो लहर शुरु भएसँगै वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पताल मातहत रहेको कोभिड-१९ अस्पताल कोरोना संक्रमितले भरिएको छ ।

२५ शय्याको कोभिड अस्पतालमा हाल २८ जना संक्रमित राखिएको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए । जसमध्ये २७ जना संक्रमितलाई अक्सिजन दिएर राखिएको छ ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा संक्रमितको संख्या दिनहुँ तीव्र गतिमा बढ्दै गएको छ । तर, प्रदेश कोभिड अस्पतालले भने थप संक्रमितलाई भर्ना गर्न सकिने अवस्था नरहेको डा. पौडेलको भनाइ छ ।

कोरोनाको दोस्रो लहरमा जटिल प्रकृतिका संक्रमितको संख्या वृद्धि हुँदै गएकाले थप समस्या सिर्जना हुन थालेको छ । ‘लक्षणसहितका संक्रमित दैनिकजसो वृद्धि भइरहेका छन्, अक्सिजन अभाव छ, हामीलाई सेवा दिनै हम्मेहम्मे भइरहेको छ,’ डा. पौडेलले भने ।

वीरेन्द्रनगरमा झण्डै तीन लाख नागरिकको बसोबास छ । कोरोना विशेष अस्पतालमा बेड अभाव भएपछि प्रदेश सरकारले कोरोनाका सामान्य लक्षण नभएका संक्रमितलाई सम्बन्धित स्थानीय तहले नै उपचार गर्न निर्देशन दिएको छ ।

तर, स्थानीय तहको तयारी भने कागजमै सीमित छ । कुनै तयारी थालेको पाइदैन । जटिल प्रकृतिका संक्रमितका लागि अत्यावश्यक मानिने अक्सिजन, आईसीयू र भेन्टिलेटरजस्ता सेवाहरू प्रदेशका सबै जिल्लामा छैनन् ।

प्रदेशभर सक्रिय संक्रमितको संख्या ४०० पुगेको छ । तीमध्ये सुर्खेतका मात्रै ३०० छन् । त्यस्तै सल्यानका ६६, दैलेखका ३० र जाजरकोटका ३४ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment