Comments Add Comment

शंख पार्कमा राखियो शारीरिक व्यायाम गर्ने पूर्वाधार

१३ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर-४ स्थित शंख पार्कमा खुल्ला शारीरिक व्यायाम गर्ने ठाउँको शुभारम्भ भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बाह्य शारीरिक व्यायाम गर्ने ठाउँको शुभारम्भ गरेका हुन् ।

अहिले व्यायामका लागि करिब ८ लाख रुपैयाँ बराबरका सामान तथा उपकरण राखिएका छन् । यसरी राखिएका उपकरणमा एब्डोमिनल फिटनेट कम्बाइनेसन, एअर वाकर, डबल सर्फोर्ड, सिंगल रोइङ् मेसिन, डबल स्लिट्स मेसिन, लेग एक्स्टेक्सन एन्ड फिटनेस राइडर, स्डान्डिङ् एन्ड सिटिङ् ट्वीस्टर, पुस अप एण्ड डिपस्टेसन र लेग लिफ्टरलगायत छन् । यी उपकरण हरेक उमेर र तौल भएका व्यक्तिले प्रयोग गर्न सक्ने गरी राखिएका छन् ।

प्रमुख शाक्यले यी उपकरणको प्रयोग गर्ने उपभोक्ताबाट आएको प्रतिक्रियाका आधारमा थप ठाउँमा विस्तार गर्ने योजना रहेको बताए । ‘हामी सार्वजनिक जग्गा संरक्षण गरेर पार्क बनाउने र पार्कलाई बहुउपयोगी बनाउने योजनाअनुसार काम गरिरहेका छौं,’ उनले भने ।

अतिक्रमित सार्वजनिक जग्गालाई पहिचान गर्ने, अतिक्रमण हटाउने र सार्वजनिक उपयोगमा ल्याउने काममा धेरै प्रगति भएको उनले बताए ।

उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, पार्क संस्कार जोगाउन सके सामाजिक व्यवस्थापनमा ठूलो सहयोग पुग्ने बताइन् । ‘हामी योजनाबद्ध रुपमा पार्क निर्माण गरिरहेका छौं । व्यवस्थित पार्कले स्थानीयको शारीरिक र मानसिक स्वास्थ्यलाई ठीक बनाउँछ, यी उपकरणको प्रयोग यसका लागि गरिनु पर्छ,’ उनले भनिन् ।

जडान गरिएका सामानको प्रयोग गर्दै वडाध्यक्ष मोहनबहादुर विष्टले, वडाका अन्य पार्कमा पनि सामान जडान गर्ने सोच सुनाए । सहरी आचरणलाई स्वस्थ्य बनाउन पनि यसप्रकारका सुविधा आवश्यक रहेको विष्टको भनाइ थियो ।

खुल्ला ठाउँमा राखिएका सामानको गुणस्तरीयका विषयमा ग्रीन वकर्सका संस्थापक अध्यक्ष रामप्रसाद उपाध्यायले यहाँ जडान गरिएको सामान तथा उपकरण विश्वका विकसित मुलुकमा प्रयोग भइसकेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment