Comments Add Comment

अक्सिजन सिलिण्डरको भन्सार शुल्क मिनाहा गर्न अर्थलाई स्वास्थ्य मन्त्रालयको प्रस्ताव

फाइल तस्वीर

१३ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिण्डर र त्यसका लागि आवश्यक पर्ने उपकरण आयात सहज बनाउन अर्थ मन्त्रालयलाई आग्रह गरेको छ ।

कोभिड संकट गहिरिँदै जाँदा हुनसक्ने अक्सिजन अभाव चिर्न अक्सिजन ग्यासको सिलिण्डर र त्यसका लागि आवश्यक पर्ने उपकरणमा भन्सार महसुल, अन्तशुल्क र भ्याट मिनाहा गर्न स्वस्थ्य मन्त्रालयबाट प्रस्ताव आएको अर्थ मन्त्रालयले जनाएको छ ।

अक्सिजन सिलिण्डर र त्यसको प्रयोगका लागि चाहिने सामग्रीहरुमा लाग्ने भन्सार महसुल मिनाहा गर्न स्वास्थ्य मन्त्रालयबाट प्रस्ताव आएको अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगालले अनलाइनखबरलाई बताए । ‘स्वास्थ्यबाट भन्सार महसुल मिनाहा गर्न प्रस्ताव आएको छ, हामी यस विषयमा के गर्ने भनेर छलफल गर्दैछौं,’ सहसचिव दंगालले भने । ती वस्तुको भन्सार महसुल कति छ र कसरी सहजीकरण गर्ने भन्ने निर्क्यौलमा पुगेपछि मन्त्रिपरिषद्मा प्रस्ताव पठाइने उनले बताए ।

यो पनि पढ्नुहोस अक्सिजन होइन, सिलिण्डरको अभाव छ !

कोभिड संकट गहिरिँदै गएपछि अत्यवश्यक सामग्रीको आयातमा सहजीकरण गर्न मन्त्रालय तयार रहेको अर्थ सचिव शिशिर कुमार ढुंगानाले बताए । स्वास्थ्य सामग्री त झनै पहिलो प्राथमिकतामा भएको र आएका प्रस्तावलाई छिटो टुंग्याउन मातहतका निकायलाई निर्देशन भएको सचिव ढुंगानाले बताए । स्वास्थ्य सामग्री र त्यसमा पनि अक्सिजनको आयात सहजीकरणमा मन्त्रालयले कुनै ढिलाइ गर्दैन, हामी प्रस्ताव मन्त्रिपरिषद्मा पठाउँछौं,’ सचिव ढुंगानाले भने ।

स्वस्थ्य मन्त्रालयको प्रस्ताव स्वीकृत भए र अक्सिजनको एक सिलिण्डर खरिदमा चार हजार रुपैयाँ सस्तो पर्न जाने नेपाल अक्सिजन ग्यास उत्पादक संघले जनाएको छ । चीनबाट आयात हुने खाली एउटा सिलिण्डरको मूल्य नेपालसम्म आइपुग्दा २० हजार रुपैयाँ पर्ने संघका महासचिव नारायण दत्त तिमिल्सििनाले बताए । अहिले अक्सिजन सिलण्डर आयात गर्दा भ्याट, भन्सार महसुल र अन्तशुल्क गरेर २९ प्रतिशत महसुल लाग्ने उनले बताए ।

यो पनि पढ्नुहोस अक्सिजन प्रयोग हुने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment