Comments Add Comment

कैलाली र कञ्चनपुरका सीमा नाकामा थप कडाइ

किनमेलका लागि सीमावर्ती बजार जान रोक

१३ वैशाख, धनगढी । स्थानीय प्रशासनले भारतसँग जोडिएका कैलाली र कञ्चनपुरका सीमा नाकामा थप कडाइ गर्ने निर्णय गरेको छ ।

सोमबार धनगढीमा बसेको अन्तरजिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले दिएको सुझावका आधारमा गौरीफन्टा र गड्डाचौकी नाकामा थप कडाइ गर्ने निर्णय गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए ।

उनले दुवै जिल्लामा किनमेल लगायतका विभिन्न बहाना बनाइ भारततर्फ जाने नेपालीहरुलाई गौरीफन्टा र गड्डाचौकी नाकामा कडाइ गरिने बताए । उपचार गर्न जानेहरुको हकमा सम्बन्धित स्वास्थ्य संस्थाको प्रेषण पूर्जा अनिवार्य देखाउनुपर्ने व्यवस्था गरिएको प्रजिअ रिजालले बताए ।

रोजगारीका लागि भारत जानेहरुले भने आधार कार्ड लगायतका कागजपत्र देखाउनुपर्नेछ । यस्तै स्थलमार्ग भएर भारतबाट फर्किने नेपालीलाई स्वदेश प्रवेश गराउँदा सबैको अनिवार्य ज्वरो मापन र एन्टिजेन विधिबाट कोरोना परीक्षणको व्यवस्था गर्ने निर्णयसमेत गरिएको छ । प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार गौरीफन्टा नाकाको हकमा स्वास्थ्य कार्यालय कैलाली र गड्डाचौकी नाकाको हकमा स्वास्थ्य कार्यालय कञ्चनपुरले परीक्षणको व्यवस्था मिलाउनेछन् ।

नेपाल प्रवेश गर्ने व्यक्तिलाई नाकाबाटै जिल्लागत रुपमा छुट्याएर सम्बन्धित जिल्ला र स्थानीय तहमा पठाउने व्यवस्थासमेत मिलाइनेछ । नाकाबाट फर्किनेहरुको प्रभावकारी ढंगले जिल्लागत अभिलेख राख्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा काम गर्ने, प्रभावकारी स्वास्थ्य परीक्षणका लागि जनशक्ति र स्रोत साधनको व्यवस्थापनका लागि सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्ने तथा गौरीफन्टा नाकामा होल्डिङ सेन्टर स्थापना गर्न धनगढी उपमहानगरपालिका र गड्डाचौकी नाकाका लागि भीमदत्त नगरपालिकालाई अनुरोध गर्ने निर्णयसमेत गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

होल्डिङ सेन्टर स्थापना गर्न सोमबार नै दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखले संयुक्त रुपमा गौरीफन्टा नाकाको स्थलगत निरीक्षणसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment