+
+
Shares
गण्डकी प्रदेश : :

अविश्वास प्रस्तावमा चलखेल हुन नदिन सांसदहरुलाई रिसोर्टमा राखियो

अमृत सुवेदी अमृत सुवेदी
२०७८ वैशाख १४ गते १३:१०
बायाँबाट क्रमश कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेल, माओवादी नेता हरिबहादुर चुमान र जसपा नेता हरिशरण आचार्य

१४ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा फ्लोर क्रस हुने आशंकामा रहेका दलहरुले आफ्ना सांसदहरुलाई सुविधासम्पन्न रिसोर्टमा राखेका छन् । कांग्रेस, माओवादी र जसपाले आफ्ना सांसदहरुलाई मंगलबारदेखि पोखराको रिसोर्टमा राखेका हुन् ।

कांग्रेस र माओवादी केन्द्रका सांसदहरु लेकसाइडस्थित कुटी रिसोर्टमा छन् । जसपाले भने आफ्ना प्रदेशसभा सदस्यहरुलाई कुटी नजिकैको अर्को एक होटलमा राखेको छ ।

‘अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकाहरुको संख्या नघटोस् भनेर साथीहरुलाई एकै ठाउँमा राखिएको हो’, एकजना प्रदेशसभा सदस्यले भने । आज पनि रिसोर्टमा नै बस्ने उनले बताए ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य दीपक कोइरालाले अविश्वास प्रस्ताव अत्यधिक मतका साथ पारित गर्ने विषयमा छलफल गर्न एकै ठाउँ भेला भएको बताए । उनले अनलाइनखबरलाई भने, ‘एकढिक्का भएर जाने र अविश्वास प्रस्ताव पारित गर्ने भन्ने कुरा भएको छ ।’

उनले अविश्वासको प्रस्तावको पक्षमा ३२ भन्दा बढी प्रदेशसभा सदस्यहरुले मत दिने दाबी समेत गरे । ‘दीपक गुरुङले म एमालेमा छैन, स्वतन्त्र छु भनिसकेको सन्दर्भ र राष्ट्रिय जनमोर्चाले पनि पक्षमा भोट हाल्छु भनिसकेको सन्दर्भमा स्पष्ट बहुमत पुग्छ’ कोइरालाले भने, ‘३२ बाट घट्ने सम्भावना छैन । ३३/३४ सम्म जान सक्छ ।’

गण्डकीमा तीन प्रदेशसभा सदस्य रहेको जनमोर्चासमेतको भोट पाउँदा अविश्वास प्रस्तावको पक्षमा ३१ मत पुग्छ जुन मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार ढाल्न पुग्ने संख्या हो ।

एमाले नेता गुरुङविरुद्ध नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ सांसद गरी २८ जनाले यही वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । गण्डकीमा नेकपा एमालेका २७ सांसद छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

गण्डकी प्रदेशसभाको विशेष अधिवेशनमा मंगलबार मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबुल भएको थियो । नयाँ मुख्यमन्त्रीको रुपमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्ताव गरिएको छ । मंगलबारै अविश्वासको प्रस्तावमाथि मतदानमा जाने विपक्षी दलको चाहना भए पनि बुधबार मात्र मतदान हुने सांसदहरूले बताइरहेका छन् ।

जनमोर्चाले भने अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको छैन । तर पनि अविश्वासको प्रस्तावको पक्षमा उभिने बताउँदै आएको विपक्षी दलका नेताहरुको भनाइ छ ।

कांग्रेस संसदीय दलका उपनेता मेषलाल श्रेष्ठले अविश्वासको प्रस्तावको पक्षमा रहेका सबै दलहरु मिलेर जाऔं भनेर एकै ठाउँ भेला भएको बताए । उनले भने, ‘जनमोर्चा अहिले यहाँ नभए पनि विश्वास प्रस्तावको पक्षमा गरिएको निर्णयमा तलमाथि हुन दिंदैनौं भनेको छ ।’

जसपाका प्रदेशसभा सदस्य हरिशरण आचार्यले आफूहरु कांग्रेस र माओवादीका सांसदहरु बसेको रिसोर्टमा नबसे पनि अविश्वासको प्रस्तावको पक्षमा भने मतदान गर्ने बताए । आचार्यले भने, ‘हामी हाम्रो नेतृत्वसँग छुट्टाछुट्टै बसेर छलफल गर्न पनि सजिलो होस् र स्वास्थ्य मापदण्ड पालना गर्दै सुरक्षित पनि रहन सकियोस् भनेर कुटी रिसोर्टमा नगएका हौं । अविश्वास प्रस्तावको पक्षमा मत दिंदैन कि भनेर आशंका गर्न जरुरी छैन ।’

जसपाले सत्ता समीकरणको विषयमा लिखित सहमति गर्न माग गर्दै आएको छ । यद्यपि लिखित सहमति हुनसकेको छैन । ‘लिखित भयो भने सहकार्य गर्न सजिलो हुन्छ । त्यसैले दीर्घकालीन रणनीतिक हिसाबले अगाडि बढौं भनेर हामीले भनेका हौं’ आचार्यले भने, ‘लिखित भयो भने सरकारमा पनि सहकार्य गर्न सकिन्छ ।’

नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य कोइराला भने मन्त्रालय बाँडफाँट अहिले आफूहरुको प्राथमिकतामा नरहेको बताउँछन् । ‘मन्त्रालय बाँडफाँट प्राकृतिक न्यायको सिद्धान्तको आधारमा हुन्छ’ कोइरालाले भने, ‘अविश्वासको प्रस्ताव पारित भएपछि त्यसमा छलफल हुन्छ ।’

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?