+
+
Shares

बागमतीका मुख्यमन्त्री लामाविरुद्धको अविश्वास प्रस्तावलाई आज छिनोफानो गरिने

कांग्रेस संसदीय दलका सचिवसमेत रहेका सांसद कृष्ण तामाङले १० बजेबाट अविश्वास प्रस्तावमाथिको प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८२ साउन १३ गते ६:४७
मुख्यमन्त्री बहादुरसिंह लामा (दायाँ) र नेपाली कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका सांसद इन्द्रबहादुर बानियाँ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको प्रक्रिया १३ साउन मंगलबार १० बजेबाट अघि बढ्ने भएको छ।
  • २१ जना बहुमत सांसदले लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए र इन्द्रबहादुर बानियाँलाई नयाँ दलको नेता चयन गर्न अनुरोध गरिएको छ।
  • अविस्वास प्रस्तावको मतविभाजनबाट बहुमत सांसदले समर्थन नदिए लामाले मुख्यमन्त्री पद छोड्नुपर्ने नैतिक दबाबमा पर्नेछन्।

१३ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा दलका नेतासमेत रहेका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि आज मंगलबार प्रक्रिया अगाडि बढ्ने भएको छ ।

कांग्रेस संसदीय दलका सचिवसमेत रहेका सांसद कृष्ण तामाङले १० बजेबाट अविश्वास प्रस्तावमाथिको प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।

९ साउनमा हेटौंडास्थित प्रदेशसभा सचिवालयमा रहेको दलको कार्यालयमा २१ जना बहुमत सांसदले लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अविश्वास प्रस्तावमा इन्द्रबहादुर बानियाँलाई नयाँ दलको नेता चयन गर्न अनुरोध पनि गरिएको छ ।

हिजो सोमबार राति ९ बजे मुख्यमन्त्री बहादुरसिंह लामा र इन्द्रबहादुर बानियाँ पक्षबीच आज मंगलबार १० बजेबाट अविश्वास प्रस्तावलाई प्रक्रियामा अगाडि बढाउने सहमति भएको थियो । सोमबार दिनभर भएको छलफलमा बानियाँ पक्षले यसलाई तत्कालै टुंग्याउनुपर्ने अडान लिएको थियो ।

मुख्यमन्त्री लामा पक्षले भने दक्षिण कोरिया भ्रमणबाट आर्थिक मामिलामन्त्री कुन्दनराज काफ्ले सोमबार राति स्वदेश फर्किने भएकोलगायतका कारण देखाएर अविश्वास प्रस्ताव माथिको प्रक्रियालाई पछाडि धकेल्न खोजेको थियो ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलभित्र अघि बढेको आन्तरिक प्रक्रियालाई सहमतिमा टुंग्याउने प्रयास भइरहेको सांसद बानियाँले बताए ।

पार्टी केन्द्रबाट खटिएका प्रतिनिधि केन्द्रीय सदस्य राजन केसी र प्रदेशका सांसदहरुबीच आन्तरिक प्रक्रियालाई निश्कर्षमा पुर्‍याउन सोमबार दिनभर संवादबाट समस्या समाधान गर्न सकिने विश्वासका साथ प्रयास गरिएको उनको भनाइ थियो ।

पूर्व कानुनमन्त्री तथा सांसद सुरजचन्द्र लामिछानेले १० बजे अघिसम्म सहमतिको प्रयास खोजिने र सहमति हुन नसके अविश्वास प्रस्तावलाई मतविभाजनबाट आज मंगलबार नै टुंगो लगाउने सहमति दुवै पक्षबीच भएको बताए ।

संसदीय दलको कार्यालयले १० बजेपछि अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुको सनाखतको प्रक्रिया अघि बढाउने तयारी गरेको छ । अविश्वास प्रस्तावको मतविभाजनबाट दलमा अल्पमत परेसँगै लामा मुख्यमन्त्री छोड्नुपर्ने नैतिक दबाबमा पर्छन् । मतविभाजनबाट बहुमत सांसदलाई पुन: आफ्नो पक्षमा पार्न सके उनी दलको नेता नै कायम रहनेछन् ।

प्रदेशसभामा कांग्रेसको ३७ सांसद छन् । दलको नेता हुन १९ जना सांसदको समर्थन भए पुग्छ ।

तत्कालीन मन्त्रीहरु सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन, विमल ठकुरी, मदुकुमार श्रेष्ठले राजीनामा दिएर अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेपछि मुख्यमन्त्री लामा संकटमा परेका थिए । उनीहरुको राजीनामामाथि कुनै कारबाही नगरी मुख्यमन्त्री लामाले सोही दिन साँझ पदमुक्त गरेको पत्र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पठाएका थिए ।

बागमतीको विवाद समाधानका लागि पार्टीको जिम्मेवारी लिएका केन्द्रीय सदस्य राजन केसी आइतबार नै हेटौंडा आएर परामर्श थालेका थिए । मुख्यमन्त्री लामा भने काठमाडौंबाट सोमबार मात्रै हेटौंडा आएका थिए ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँ लामालाई हटाएर आफू मुख्यमन्त्री बन्ने कसरतमा छन् । मुख्यमन्त्री बन्न संसदीय दलको नेता हुनुपर्ने विधानत: व्यवस्थाले लामामाथि अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

बानियाँ र लामा दलको नेता बन्न १३ पुस २०७९ मा संसदीय दलको निर्वाचन लडेका थिए । दलको निर्वाचनमा लामासँग बानियाँ ५ मतले पराजित बने । लामाले २१ मत ल्याउँदा बानियाँले १६ सांसदको मात्रै समर्थन पाएका थिए । प्रदेशसभाको पहिलो कार्यकाल (२०७४–७९)मा पूरा पाँच वर्ष बानियाँ दलको नेता थिए । त्यतिबेला उनी मुख्यमन्त्री हुन सकेनन् ।

लेखक
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?