+
+
Shares

वीरगञ्जमा निःशुल्क अक्सिजन बैंक स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १४ गते २०:१३

१४ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा निशुल्क अक्सिजन बैंकको स्थापना गरिएको छ । वीरगञ्ज महानगरपालिकाले लायन्स क्लबहरुसँग मिलेर निशुल्क अक्सिजन बैंक स्थापना गरेको हो ।

कोभिड–१९ संक्रमणबाट जोखिममा परेका नागरिकको जीवन रक्षाका लागि अक्सिजन बैंकको स्थापना गरिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ । अक्सिजन बैंक स्थापनाका लागि लायन्स क्लब अफ वीरगञ्ज, जीतपुर सिमरा, कलैया र गञ्जभवानीपुरले सहयोग गरेको छ ।

अक्सिजनको अभावमा कुनैपनि नगरबासीले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले निशुल्क रुपमा अक्सिजन वितरण गर्न लागिएको नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए । वीरगञ्जका अस्पतालहरुमा उपचाररत संक्रमितलाई अक्सिजनको अभाव हुने अवस्था आएमा महानगरपालिकाले निशुल्क उपलब्ध गराउने उनले बताए ।

अक्सिजन, अक्सिजनका लागि आवश्यक किट लायन्स क्लबहरुले निशुल्क रुपमा उपलब्ध गराउने लायन्स क्लब अफ वीरगञ्ज जोन चेयर पर्सन वीरगञ्जका संयोजक अनुप अग्रवालले बताए ।

‘अक्सिजन सिलिण्डरको फिलिङ कष्ट ब्यहोर्छौं, रेगुलेटर, पाइप हामीले महानगरपालिकालाई निशुल्क उपलब्ध गराउँछौं’ उनले भने, ‘औषधीका लागि पनि कुरा भएको छ, तर निर्णयमा पुगी सकेका छैनौं ।’

अक्सिजन प्रयोग पछि सिलिण्डर भने अक्सिजन बैंकमा फिर्ता गर्नुपर्नेछ । वीरगञ्ज महानगरपालिकालाई रिफिलिङको चार्ज मात्रै लिने गरि वीरगञ्ज हेल्थ केयर हस्पिटलले १ सय ५० थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको थियो ।

यसअघि ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले निशुल्क अक्सिजन सेवा सुरु गरिसकेको छ । केन्द्रबाट ४ दिन भित्रमा ३० वटा सिलिण्डर वितरण भइसकेको केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।

‘घर घरमा अक्सिमिटर राखेका छन्, राति बाह्र बजेतिर अक्सिजनका लागि फोन आइरहेको छ’ उनले भने ‘कोभिड होस वा ननकोभिड जरुरी परेकालाई सहयोग गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?