Comments Add Comment

स्वास्थ्य सामग्री आपूर्तिका लागि संयन्त्र बनाउन चीनको प्रस्ताव

१५ वैशाख, काठमाडौं । कोरोना महामारी नियन्त्रण, गरिवी निवारण र व्यापार–वाणिज्य प्रवर्द्धनका लागि चीनले नेपाल लगायत दक्षिण एसियाली मुलुकहरुसँग विभिन्न संयन्त्र निर्माणको प्रस्ताव गरेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले वुधबार दक्षिण एसियाली मुलुकका समकक्षीहरुसँग गरेको भिडियो सम्मेलनमा सो प्रस्ताव गरेका हुन् । सम्मेलनमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भाग लिएका थिए ।

चिनियाँ विदेशमन्त्रीले चीन–दक्षिण एसिया आपत्कालीन आपूर्ती भण्डारण संयन्त्रण निर्माण गर्न प्रस्ताव गरेका छन् । यसको उद्देश्य खोप लगायत अन्य अत्यावश्यक स्वास्थ्य सामग्रीहरुको भण्डारण गर्ने र संकटमा परेका देशलाई उपलब्ध गराउने हो ।

सो भण्डारण केन्द्र समुद्रको नजिक बनाउन बंगलादेशले प्रस्ताव गरेको छ । बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनका अनुसार समुद्रको नजिक स्थापना गरिएमा आप्तकालीन अवस्थामा कुनै पनि मुलुकमा छिटो पुर्याउन र प्रयोग गर्न सकिन्छ ।

चिनियाँ विदेशमन्त्रीले कोरोना खोपमा सहकार्यका लागि एक संयन्त्र नै निर्माण गरेर काम गर्ने प्रस्ताव गरेका छन् । चीनले कोरोना खोपका सम्बन्धमा अनुदान, व्यापारीक कारोबार र उत्पादनको क्षेत्रमा सहकार्यका लागि लचिलो रहेको समेत उल्लेख गरेको छ ।

खोपका सम्बन्धमा चिनियाँ विदेशमन्त्रीले नेपाल, चीन, बंगलादेश, श्रीलंका, पाकिस्तान र अफगानिस्तान बीचमा एक सहकार्य संयन्त्र बनाउने र त्यही फ्रेमवर्कमा काम गर्ने प्रस्ताव गरेका हुन् ।

पछिल्लो समय दक्षिण एसियाली मुलुकहरुमा संक्रमणको दर ह्वात्तै बढेको सन्दर्भमा चीनले सो भिडियो सम्मेलनको आयोजना गरेको हो । आन्तरिक रुपमा कोरोना संक्रमण बढेपछि भारत यतिबेला दक्षिण एसियाली मुलुकलाई खोप र अन्य स्वास्थ्य सामाग्री उपलब्ध गराउन सक्ने अबस्थामा छैन । त्यसैले पनि दक्षिण एसियाली मुलुकहरु खोपका लागि चीनतिर पहल गर्न थालेका छन् ।

मंगलबारको छलफलमा नै चीनले नेपाललाई ९ करोड बराबरको विभिन्न स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउने घोषणा गरेको छ । चीनले नेपाललाई ८ लाख डोज खोप अनुदानमा उपलब्ध गराइसकेको छ । उसले अन्य दक्षिण एसियाली मुलुकहरुलाई पनि अनुदानमा खोप उपलब्ध गराएको छ । तर दक्षिण एसियाली मुलुकले खोप भने भारतबाट नै किनिरहेका छन् ।

विशेषत गत वर्ष महामारी शुरु भएयता नेपाल, चीन, अफगानिस्तान, बंगलादेश र श्रीलंकाले महामारी नियन्त्रण र अन्य विषयमा पटक–पटक छलफल गरेका छन् । विदेशमन्त्री र अन्य विभिन्न तहमा यस्ता कुराकानीहरु भइरहेका छन । कतिपयले यसलाई चीनले ‘हिमालयन क्वाड’ बनाउन लागेको रुपमा पनि ब्याख्या गरेका छन् । तर, चीनले पनि क्वाड शितयुद्धकालिन मानसिकता भएको र आफूले दक्षिण एसियाली मुलुकसँग सहकार्य गर्न चाहेको उल्लेख गरेको छ ।

आइतबारको सम्मेलनमा चीनले भारतलाई पनि आमन्त्रण गरेको थियो तर भारत सहभागी हुन मानेन । भुटान र मालदिभ्स पनि सम्मेलनमा सहभागी थिएनन् ।

चिनियाँ विदेशमन्त्रीले गरिवी निवारणमा समेत ६ मुलुकहरुको विचमा सहकार्यको प्रस्ताव गरेका छन् । उनले चीन–दक्षिण एसिया गरिवी निवारण र विकास सहकार्य सम्बन्धी केन्द्र स्थापना गर्न प्रस्ताव पनि गरे ।

विशेषतः चीनले पछिल्लो दशकमा गरिवी निवारणमा उलेख्य प्रगती हासिल गरेको छ । उसले आफ्नो अनुभव र सफलता दक्षिण एसियाली मुलुकहरुसँग बाँड्न चाहेको छ । त्यसका लागि उसले एक स्थायी संयन्त्र नै निर्माण गर्ने प्रस्ताव गरेको छ ।

त्यसैगरी उसले ई–कमर्सलाई पनि संस्थागत रुपमा नै अगाडि बढाउन चाहेको छ । महामारीको कारण एक ठाउँबाट अर्काे ठाउँमा जान कठिनाई हुने भएकाले चीनले ई–कमर्सलाई प्रवर्द्धन गर्न चाहेको बताएको छ ।

यी विषयसँगै चीनले दक्षिण एसियाली मुलुकहरुसँग बेल्ट एण्ड रोड(बिआरआई) सहकार्यलाई पनि अगाडि बढाउन चाहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment