Comments Add Comment

गण्डकी प्रदेशका तीन सांसदलाई कोरोना संक्रमण पुष्टि

१५ वैशाख, पोखरा । गण्डकी प्रदेशका तीन जना सांसद र एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सभामुख नेत्रनाथ अधिकारीले ३ सांसद र एक कर्मचारीलाई संक्रमण भएको पुष्टि गर्दै प्रदेश सभाको बैठक भने प्रभावित नहुने बताए ।

‘संसद बैठक निर्धारित समयमै सुरु हुन्छ, माननीयलाई बोल्न दिने, मत हाल्न दिने हिजो नै सहमति भएको हो,’ सभामुख अधिकारीले भने, ‘कोरोना देखिँदैमा संसदको कार्यसूची तलमाथि नहुने बताए ।

गण्डकी प्रदेशसभाको बैठक बुधबार दिउँसो १ बजे बोलाइएको छ । पीसीआर परीक्षणविना प्रदेशसभाको बैठक बसाइएको भन्दै मंगलबार सत्तारुढ नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले बैठक अवरुद्ध गरेका थिए ।

विपक्षी सांसदहरुको समावेदनको आधारमा गण्डकीको विशेष अधिवेशन मंगलबारबाट सुरु भएको थियो । विशेष अधिवेशनबाट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टुंगो लगाइने छ ।

अविश्वास प्रस्तावमा विहीबार मतदानको तयारी छ । प्रदेशसभा सचिवालयले संक्रमित व्यक्तिलाई पनि मतदानको व्यवस्था मिलाउने जनाएको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि गण्डकी प्रदेशको राजधानी पोखरासहित कास्की जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment