Comments Add Comment

भेरी अस्पतालमा ८ चिकित्सक र ३२ नर्ससहित ७५ जनामा कोरोना संक्रमण

तस्वीर/चन्द्र आले ।

१५ वैशाख, काठमाडौं । बाँकेको भेरी अस्पतालमा कार्यरत ८ चिकित्सकसहित ७५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ ।

अस्पतालका नर्सिङ अफिसर इश्वरी केसीका अनुसार ८ जना प्यारामेडिक्स, ३२ जना नर्सिङ कर्मचारीसहित ७५ जनामा संक्रमण पुष्टि भएको हो । दुई सातायता ७५ जनामा संक्रमण देखिएको उनको भनाइ छ ।

‘एकैपटक धेरै संख्यामा स्वास्थ्यकर्मीमा संक्रमण हुँदा उपचारमा समस्या आएको छ,’ केसीले अनलाइनखबरसँग भनिन्, ‘संक्रमित स्वास्थ्यकर्मी समेत अहिले उपचारमा खट्नु पर्ने बाध्यता छ ।’ १५ जना जति स्टाफ नर्स कोरोना मुक्त भएर पुनः काम फर्किएका कारण उपचारमा केही सहजता भएको भएपनि पर्याप्त नभएको उनले बताइन् ।

संक्रमण भएका चिकित्सक लगायतका स्वास्थ्यकर्मीहरु होमआइसोलेसनमा रहेको र केही कर्मचारी भने अस्पतालकै आइसोलेसनमा रहेको उनले बताइन् ।

अस्पतालमा अहिले २४२ जना संक्रमित उपचाररत रहेको उनले बताइन् । ‘आईसीयूमा ७५, भेन्टिलेटरमा ९ र अन्य आइसोलेसन बेडमा उपचाररत छन्,’ उनले भनिन्, ‘जसमध्ये ७५ देखि ८० प्रतिशत बिरामीलाई अक्सिजन दिनुपरेको छ । एक जनाले २० जना बिरामीलाई हेर्नुपरेको छ ।’

नर्सिङ अफिसर केसीले भनिन्, ‘बुधबार पनि केही स्वास्थ्यकर्मीसहित कर्मचारीमा संक्रमण भएको जानकारी पाएको छु । त्यसैले संक्रमित स्वास्थ्यकर्मीको संख्या अझै बढ्न सक्ने सम्भावना छ ।’

कोरोना संक्रमितले अस्पताल भरिभराउ हुँदा उपचारमा समस्या आएको भन्दै चिकित्सकहरुले यस्तो भयावह स्थितिको सामना गर्न नसक्ने बताएका थिए । त्यसलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा ८० जना स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो ।

मन्त्रालयको सोही निर्णयको आधारमा अस्पतालले पनि नियुक्तिको प्रक्रिया अघि बढाएको अस्पतालका डाक्टर राजन पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment