Comments Add Comment

छात्रा मृत्यु प्रकरण : विद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको माग

१५ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमास्थित प्यारामाउण्ट बोर्डिङ स्कुलको छात्रावासमा अध्ययनरत प्रतिभा सापकोटाको मृत्युमा विद्यालयको कुनै दोष नभएको विद्यालयले दाबी गरेको छ ।

उक्त घटनालाई लिएर लगाइएका आरोपहरु निराधार रहेको दाबी गर्दै विद्यालय प्रशासनले विद्यालयमा भएको आक्रमण, तोडफोड र सञ्चालकमाथि दुव्र्यवहार गर्नेमाथि कारबाही गर्न माग गरेको छ ।

कक्षा १० मा अध्ययनरत छात्रा प्रतिभाको वैशाख ११ गते भएको मृत्यु र त्यसपछि भएका घटनाबारे बुधबार पत्रकार सम्मेलन गरी विद्यालयले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न र मृतकका परिवारलाई न्याय दिलाउन माग गरेको छ ।

वैशाख १० गते शुक्रबारसम्म प्रतिभाको स्वास्थ्यमा कुनै पनि समस्या नरहेको र साँझ ७ बजेतिर होस्टेल अगाडि चौरमा छात्राहरुको समूहमा नाचगानमा उनी सक्रियतापूर्वक सहभागी भएको विद्यालयले जनाएको छ । यस्तै वैशाख ११ गते बिहान सापकोटाले आफ्नो स्वास्थ्यमा सामान्य समस्या आएको जानकारी भएपछि दाजु प्रकाश सापकोटालाई बोलाइएको र बिहान ८ बजेतिर प्रतिभालाई होस्टेलबाट लिएर गएको विद्यालयले जनाएको छ ।

होस्टेलबाट लगेपछि पाँच घण्टासम्म प्रतिभालाई अस्पताल नलगी आफन्तकहाँ राखिएको, प्रतिभाको अवस्थाका बारेमा विद्यालयलाई कुनै जानकारी नगराएको र दिउँसो सवा २ बजे अचानक प्रतिभाका अभिभावकसहितको समूहले विद्यालयभित्र प्रवेश गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्य, निमित्त प्रिन्सिपल लगायतमाथि भौतिक आक्रमण र बसका सीसा तोडफोड गरेको विद्यालय प्रशासनले दाबी गरेको छ ।

विद्यार्थीको मृत्युको संवेदनशील अवस्थामा गलत आरोप लगाई विद्यालयमाथि आक्रमण र विद्यालयका अध्यक्ष लगायतलाई करकापमा पारी अनुचित सम्झौता गरिएको र अर्को दिन पुनः भौतिक आक्रमण भएकोले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न विद्यालयका उपाध्यक्ष राम गिरीले प्रशासनसँग माग गरे । छात्राको मृत्युपछि विद्यालयमा शालिक बनाएर राख्ने र १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने विषयमा विद्यालय सहमत भएपनि पछि अक्षयकोष गुल्मीमा स्थापना गर्नुपर्ने अडान मृतकका आफन्तले गरेपछि सहमति भाँडिएको उनको जिकिर छ ।

‘प्रतिभाको मृत्युमा विद्यालयको कुनै दोष छैन, निराधार आरोप लगाएर बदनाम गरियो,’ पत्रकार सम्मेलनमा उपाध्यक्ष गिरीले भने, ‘तिलोत्तमा नगरपालिकाले समेत छानबिन समिति बनाएको छ, त्यसले पनि सत्यतथ्य ल्याउने नै छ ।’  प्रतिभासँग होस्टेलमा बस्ने र अध्ययन गर्ने ४३ जना विद्यार्थीको कोरोना परीक्षण गर्दा कसैमा पनि पोजेटिभ नदेखिएको विद्यालयका कार्यबाहक प्रिन्सिपल एलडी किराँतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment