+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares
खोप लगाउन आउनेहरुको चिन्ता :

यही भीडबाटै पो कोरोना सर्ने हो कि !

नुनुता राई नुनुता राई
२०७८ वैशाख १५ गते २१:०७

१५ वैशाख, काठमाडौं । ‘सुई लगायो भने कोरोना लाग्दैन भनेर छोराले ल्याएको’ ५० वर्षीय जनमाया श्रेष्ठ कोरोना संक्रमणविरुद्धको खोप लगाउनेको लाइनको बीचमा चप्पल बिछ्याएर बसेकी थिइन् ।

बुधबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पुगेकी जनमाया तीन घन्टा उभिएपछि थकाइ लागेर भुइँमा बसेकी थिइन् । कोरोनाभाइरस संक्रमणबाट धेरै मानिसको मृत्यु भएको सुनेर उनी भक्तपुरदेखि खोप लगाउनकै लागि आएकी हुन् ।

अहिले चीनले अनुदानमा दिएको भेरोसेल खोप उपत्यकाको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, ललितपुरको अल्का अस्पताल लगायत केही स्थानमा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका लागि लगाइँदैछ ।

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि खोप लगाउन आउनेको भीड बढेको अस्पताल ओपीडी इन्चार्ज शुभद्रा प्याकुरेलले बताइन् । ‘खोप लगाउन आउनेको भीड बिहानदेखि बेलुकासम्म उस्तै छ । कोरोना संक्रमितको संख्या बढेपछि सर्वसाधारणमा खोप लगाउनुपर्छ भन्ने परेको छ’ उनी भन्छिन् ।

भीड बढी भएका कारण लाइन बसेकाहरुले पनि पालो नपाएर फर्किनुपरेको खोप लगाइदिने स्टाफ नर्स रेशा प्रकाशले बताइन् । यहाँ बिहान दश बजेदेखि साँझ पाँच बजेसम्म खोप लगाउने समय तोकिएको छ ।

कतिपयले पालो मिचेर खोप लगाएको भन्दै लाइनमा बसेकाहरु रिसाइरहेका थिए । प्रहरी र अस्पतालका कर्मचारीहरु लाइन व्यवस्थित बनाउने कोशिश गरिरहेका देखिन्थे । कोरोना संक्रमणबाट बच्न दुई मिटरको भौतिक दूरी राख्नुपर्ने सरकारी नियम यहाँ पालना हुनसकेको छैन ।

काठमाडौं महाबाैद्धका दीपक भट्टराईलाई पहिले कोरोनाभाइरस सामान्य लागेको थियो । तर पछिल्लो समय संक्रमित र मृतकको संख्या बढेपछि भने डर लागेको छ । ‘संक्रमितको संख्या बढ्न थालेपछि केही रोकथाम हुन्छ होला भनेर आएको हो’ भट्टराईले खोप लगाउन लाइन लाग्नुको कारण खोले ।

बिहीबारदेखि अत्यावश्यकबाहेकका सेवा बन्द हुने भएकाले आजै खोप लगाउन आएको उनको भनाइ छ ।

लाइनमै भेटिएकी अनिता तामाङ आफू सचेत भएर मात्र कोरोनाबाट बच्न नसक्ने निष्कर्षमा पुगेर खोप लगाउन आएको बताउँछिन् । कालीमाटीका विजय शाहीले घरमा बालबालिका भएकाले उनीहरुलाई सुरक्षित राख्न १८ वर्षमाथिका सबै खोप लगाउन आएको बताए ।

लाइनमा उभिएका कतिपयले तीन दिन धाउँदा पनि खोप लगाउन नपाएको बताए । कतिपयमा भने यही लाइनबाट कोरोना सर्ने हो कि भन्ने डर पनि देखियो । खोप लगाउन आएकी सबिता कार्की भन्दै थिइन् ‘कोरोना नलागोस् भनेर खोप लगाउन आइयो । यस्तो भीड छ, के थाहा भरे सारेर पो गइने हो कि !’

खोप लगाउनेको भीड केही दिनदेखि सञ्चारमाध्यममा देखेर नलगाउने विचार गरेकी उनी संक्रमितको संख्या बढ्न थालेपछि भने लाइन बस्न आइपुगेकी हुन् ।

निना बज्राचार्यले तीन घन्टा लाइन बसेर खोप लगाउन पाएको सुनाइन् । त्यस्तै शारदादेवी चौधरीले खोप लगाएपछि कोरोना लाग्दैन भन्ने कुरा युट्युबका हेरेर थाहा पाएपछि आएको बताइन् ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

लेखक
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?