Comments Add Comment

एनएसएलमा पोखराले विराटनगरलाई हरायो

फाइल तस्वीर

१५ वैशाख काठमाडौं । मार्की खेलाडी नवयुग श्रेष्ठको निर्णायक गोलको मद्दतमा पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल)मा पहिलो जित हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको दिनको दोस्रो खेलमा पोखराले विराटनगर सिटी एफसीलाई १–० गोलले पराजित गरेको हो ।

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा पोखराले एक गोल गर्‍यो । खेलको ८३औं मिनेटमा नवयुगले माउसा अब्बाको फ्रिकिकमा हेडर गोल गर्दै पोखरालाई १–० को अग्रता दिलाएका थिए । त्यही गोल पोखरालाई ३ अंक दिलाउन निर्णायक बन्यो ।

पहिलो खेलमा बुटवलसँग पराजित भएको पोखराले पहिलो जितपछि २ खेलबाट ३ अंक जोडेको छ ।

पहिलो खेलमा धनगढी एफसीलाई पराजित गरेको विराटनगरको भने यो पहिलो हार हो । २ खेलपछि विराटनगरको पनि ३ अंक नै छ । खेलमा गोल गरेका पोखराका नवयुग प्लेयर अफ दी म्याच चुनिए । उनले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

यस्तै प्रोमोसिङ प्लेयर अफ दी म्याच बनेका पोखराका नितिन थापाले १० हजार प्राप्त गरे ।

चितवन र बुटवलको रोमाञ्चक बराबरी

त्यसअघि बुधबार भएको पहिलो खेलमा एफसी चितवन र बुटवल लुम्बिनी एफसीले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् । एफसी चितवनले दुई गोलको अग्रता लिएर पनि कायम राख्न नसक्दा बुटवलसँग बराबरी खेल्न बाध्य भएको हो ।

खेलको १५ औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै चितवनलाई अग्रता दिलाएका थिए । १९ औं मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गर्दै चितवनलाई २–० को अग्रता दिलाए ।

तर दुई गोलले पछि परेको बुटवलले उत्कृष्ट पुनरागमन गर्‍यो । खेलको ३२ औं मिनेटमा बुटवलका आशिष लामाले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । ६५ औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै खेल २–२ को बराबरी गर्न सफल भए । त्यसपछि खेलमा थप गोल भएन र दुवै टोलीले १–१ अंक बाँडे ।

चितवनका जर्ज प्रिन्स कार्की खेलको प्लेयर अफ दी म्याच घोषित भए । उनले २५ हजार प्राप्त गरे । यस्तै प्रोमोसिङ प्लेयर अफ दी म्याच बनेका बुटवलका लक्ष्मण रुचालले १० हजार हजार प्राप्त गरे ।

लिगमा चितवनले लगातार दोस्रो बराबरीपछि २ खेलबाट २ अंक जोडेको छ । पहिलो खेलमा चितवनले ललितपुर सिटी एफसीसँग बराबरी खेलेको थियो ।

यस्तै पहिलो खेलमा पोखरा थण्डर्सलाई पराजित गरेको बुटवलको यो पहिलो बराबरी हो । २ खेलबाट बुटवलले ४ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment