Comments Add Comment

खुला मञ्चबाट पुरानो बसपार्क हट्यो, सवारी प्रवेशमा रोक

मध्यम दुरीका गाडी गोङ्गबु बसपार्क गए, छोटो दुरीका गाडीलाई पिक एण्ड ड्रप

१५ बैशाख, काठमाडौँ । आज साँझदेखि महानगरले खुला मञ्चमा रहेको सिटी बसपार्क सवारी प्रवेशमा रोक लगाएको छ । साँझ परेपछि वीरअस्पतालतर्फको प्रवेश द्वारमा फलामे ढोका लगाएर सवारी प्रवेश रोक लगाएको हो । सवारी प्रवेश रोक भएपछि भित्र रहेका सवारीलाई निकालेर विद्युत प्राधिकरणतर्फको ढोकामा ताला लगाइनेछ । अहिले बसपार्क खाली गराउने काम भइरहेको छ ।

बैशाख ९ गते महानगरले खुला मञ्च खाली गराइ त्यहाँका संरचना हटाउने प्रस्तावमाथि छलफल गर्दै खुला मञ्चलाई मौलिक प्रयोगमा ल्याउन आजबाट खुला मञ्चबाट बसपार्क सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो ।

नगर प्रहरी उपरीक्षक धनपति सापकोटाकाअनुसार यस बसपार्कबाट करिब ४० कम्पनीका ६ सय सवारी साधन सञ्चालनमा थिए । जसमध्ये करीव २७ वटा कम्पनी छोटो दुरीका र करिब १३ वटा कम्पनी मध्यम दुरीका सवारी सञ्चालन गर्छन् ।

महामारी रोकथामका लागि जिल्ला प्रशासन कार्यालयबाट जारी आदेशको अवधिपछि यहाँबाट सञ्चालन हुने सार्वजनिक यातायातका साधनलाई २ तरिकाबाट व्यवस्थापन गरिनेछ । टिकट काउन्टर राखेर चलेका मध्यम दुरीका गाडी गोङ्गबु बस पार्कबाट सञ्चालन हुनेछन् ।

यस्तै छोटो दुरीका सवारी पिक एण्ड ड्रप प्रणालीबाट चल्नेछन् । पिक एन्ड ड्रप प्रणालीमा चल्ने गाडीहरुका सार्वजनिक सूचना प्रकाशन गरेर महानगरले निवेदन माग गरेको थियो । प्राप्त निवेदनका विषयमा महानगर र ट्राफिक प्रहरी महाशाखाले व्यवस्थापन गर्नेछन् ।

साविक पुरानो बसपार्क भएको ठाउँमा काठमाडौँ टावर निर्माण हुने भएपछि २०७३ सालदेखि निश्चित अवधिका लागि त्यस ठाउँबाट चल्ने सवारी साधनलाई खुला मञ्चमा ल्याइएको थियो । तोकिएको समयभित्र टावर निर्माण नभएकोले खुला मञ्चलाई खुला राख्न महानगरले बसपार्क हटाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment