Comments Add Comment

सैनामैनामा कोरोना विशेष अस्पताल सञ्चालन

१६ वैशाख, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले कोरोना विशेष अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । सैनामैना–१ वनकट्टामा रहेको पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको भवनमा कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो ।

अस्पतालमा हाल तीनवटा मोनिटरयुक्त बेड, पाँचवटा अक्सिजनयुक्त बेड र ४५ वटा आइसोलेसन बेड रहेका छन् । अस्पतालमा अक्सिजन सिलिण्डर थप भएमा ५० बेडमै लक्षणसहितका संक्रमितलाई उपचार गर्न सकिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीले जानकारी दिए ।

अस्पतालमा एकजना विशेषज्ञ डाक्टर, एकजना हेल्थ असिस्टेन्ट, दुईजना स्टाफ नर्स, चारजना अनमी र एकजना अहेब कार्यरत छन् । नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले लुम्बिनी प्रादेशिक अस्पताल र भीम अस्पताल भैरहवामा बेड अपुग भएर संक्रमितले उपचार नपाइरहेको अवस्था देखेर प्राकृतिक चिकित्सालयमा  कोरोना विशेष अस्पताल सञ्चालन गरिएको बताए । उनले प्रदेश सरकारले तत्काल ३० थान अक्सिजन सिलिण्डर, एक्सरे मेसिन र मोनिटर उपलब्ध गराएको खण्डमा संक्रमितले सहजरुपमा उपचार पाउने र उनीहरुको जीवन जोगिने बताए ।

संघीय सरकारबाट प्राप्त ५० लाख रुपैयाँ बजेट चालु आर्थिक वर्षभित्र कोरोना संक्रमितको उपचार, संक्रमण रोकथाम र नियन्त्रणमा खर्च गरिने उनले बताए । अस्पतालको उद्घाटन गर्दै प्रदेशसभा सदस्य भूमिश्वर ढकाल, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले गत वर्षको भन्दा यसपटकको कोरोना भाइरस संक्रमण दर उच्च रहेकाले सबै उमेर समूहको स्वास्थ्यमा जटिलता निम्ताउने र मृत्यु दर पनि बढी भएकाले स्वास्थ्य सतर्कता अपनाउन र निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरे ।

अस्पताल उद्घाटन भएकै दिन एकजना जटिल स्वास्थ्य अवस्थाका र दुईजना सामान्य अवस्थाका संक्रमित भर्ना भएर उपचार लिन शुरु गरेको डा. विमल शर्माले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment