Comments Add Comment

मुख्यमन्त्रीको निर्देशनपछि आकाशे पुलको शिलान्यास रोकियो

१६ वैशाख, विराटनगर । कोरोना महामारीकाबीच आकाशेपुल शिलान्यासको तयारी गरेका मन्त्री र मेयर मुख्यमन्त्रीको निर्देशनपछि पछि हटेका छन् ।

बुधबार बेलुका आकाशेपुल शिलान्यास गर्ने तयारीमा रहेका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र प्रदेश-१ भौतिक पूर्वाधार मन्त्री अम्बिरबाबु गुरुङ मुख्यमन्त्री शेरधन राईको निर्देशनपछि पछि हटेका हुन् ।

बुधबार बेलुका ५ बजे विराटनगरको घाँस चोकमा पुल शिलान्यास गर्न भन्दै शहरी विकास तथा भवन कार्यालयलका प्रमुख मिलन आचार्यले निमन्त्रणा पठाएका थिए ।

अन्तिम समयमा मुख्यमन्त्रीले रोक्न निर्देशन दिएपछि शिलान्यास रोकिएको हो । ‘यस्तो बेला शिलान्यासको कार्यक्रम राख्न हुदैन भन्दै मुख्यमन्त्रीले रोक्नुभयो,’ मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले भने ।

शिलान्यासमा सहभागी हुन निमन्त्रणमा आएपछि प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पनि कार्यक्रम नगर्न आग्रह गरेका थिए । ‘मलाई पनि निमन्त्रणा आयो, यस्तोबेला मान्छे भेला पारेर शिलान्यास कार्यक्रम गर्न हुदैन भनेर मन्त्री र मेयरज्यूलाई फोन गरेँ,’ प्रजिअ निरौलाले भने,‘पछि रोकियो भन्ने जानकारी पाएँ ।’

विराटनगर महानगरपालिकाले नगरक्षेत्रभित्र कुल तीनवटा आकाशे पुल निर्माण गरिरहेको छ भने सहरी विकास तथा भवन कार्यालयले छुट्टै एउटा पुल निर्माण गर्ने तयारी गरेको छ ।

विराटनगर महानगरपालिकाका इन्जिनियर अर्जुन थापाले एक महिनाअघि शिलान्यास गरेर काम अघि बढाएको बताए ।

महानगरले कोसी राजमार्गको घाँस चोक, बरगाछी चोक र कञ्चनबारी चोकमा आकाशे पुल निर्माण गर्ने थापाले जानकारी दिए ।  सहरी विकास कार्यालयले घास चोकमा बनाउने इच्छा देखाएकाले महानगरले बसपार्कमा बनाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment