Comments Add Comment

झण्डै २१ लाखले लगाए कोरोना खोप

फाइल तस्वीर

१६ वैशाख, काठमाडौं । देशको कुल जनसंख्यामध्ये ६ प्रतिशतभन्दा बढीले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

विभागका खोप महाशाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार कोभिशिल्ड र भेरोसिल्ड गरी २० लाख ९१ हजार जनाले पहिलो डोज खोप लगाएका हुन् ।

भारतले १० लाख डोज खोप अनुदानमा दिएपछि सरकारले १४ माघ २०७७ देखि खोप अभियान शुरु गरेको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मीसहित फ्रन्टलाइनहरुलाई खोप दिइएको थियो । सेरम इस्टिच्युटसँग २० लाख खोप किन्ने सहमति भएपनि १० लाख डोज मात्र नेपाल आइपुगेको छ ।

भारतीय सेनाले नेपाली सेनालाई दिएको ३ लाख ४८ हजार डोजसमेत जोड्दा कुल २३ लाख ४८ हजार कोभिशिल्ड खोप नेपालमा आइपुगेको थियो ।

डा. गौतमका अनुसार १८ लाख १९ हजार ४३६ जनाले कोभिशिल्ड खोपको पहिलो डोज लगाएका छन् । कोभिशिल्डको पहिलो मात्र लगाएकामध्ये ३ लाख ३२ हजारले दोस्रो डोज पनि लगाइसकेको विभागको तथ्यांकमा उल्लेख छ ।

यस्तै चीन सरकारले ८ लाख डोज अनुदानमा दिएपछि भेरोसिल्ड पनि नेपालमा आइपुग्यो । हालसम्म २ लाख ७१ हजार ५६४ जनाले भेरोसिल्डको पहिलो डोज लगाएका छन् । ४ लाख जनालाई भेरोसिल्ड खोप दिने लक्ष्य छ ।

रोकियो दोस्रो चरणको खोप अभियान

दोस्रो चरणको खोप अभियानअन्तर्गत पहिलो र दोस्रो डोज लगाउने कार्यक्रम स्थागित भएको छ ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएसँगै विभागले खोप कार्यक्रम बिहीबारदेखि स्थगित गरेको हो । खोप लगाउने ठाउँमा बढेको भिडभाडबाट हुन सक्ने जोखिमलाई विश्लेषण गर्दै अर्को सूचना जारी नभएसम्मका लागि खोप कार्यक्रम स्थगित गरिएको विभागका खोप महाशाखा प्रमुख डा. गौतमले बताए ।

काठमाडौं उपत्यकामा भेरोसिल्डको पहिलो डोज चैत २५ गतेदेखि लगाउन शुरु भएको थियो भने कोभिशिल्डको दोस्रो डोज वैशाख ७ गतेदेखि लगाउन शुरु गरिएको थियो ।

करिब २ करोड १५ लाख जनालाई निःशुल्क कोरोना खोप दिने सरकारको लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment