Comments Add Comment

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा पाँच दल दर्ता

१६ वैशाख, काठमाडौँ । बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पाँच राजनीतिक दलले भाग लिने भएका छन् । उपनिर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आयोगमा दल दर्ता गराएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

उपनिर्वाचनका लागि एमालेलाई सूर्य चिह्न र क्रम १, कांग्रेसलाई रुख चिह्न र क्रम २, माओवादी केन्द्रलाई गोलाकार भित्र हँसिया हथौडा चिह्न र क्रम ३, राप्रपालाई हलो चिह्न र क्रम ४ तथा नेमकिपालाई मादल चिह्न र क्रम ५ का क्रममा मतपत्रमा समावेश गरिने भएको छ ।

आगामी जेठ ६ गते बिहीबार हुने वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ को उपदफा ९३० बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्ने र दल दर्ता गर्ने राजनीतिक दललाई निर्वाचन चिह्न निर्धारण गरी प्रदान गर्ने आयोगले निर्णय गरेको छ ।

३४८ मतदाता कायम

उपनिर्वाचनका लागि प्रदेशसभा सदस्य ११० र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ गरी ३४८ मतदाता कायम भएको छ ।

आयोगका अनुसार, स्वीकृत भएको मतदाता नामावली यही वैशाख २१ गते बिहान ११ बजे निर्वाचन अधिकृतको कार्यालय, हेटौँडामा प्रकाशन गर्ने र प्रकाशित मतदाता नामावलीमा सोही दिनको बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म नाम समावेश हुन छुटेका व्यक्तिले आफ्नो नाम समावेश गर्नका लागि दरखास्त दिने व्यवस्था गरिएको छ ।

मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिले आफ्नो नाम, थर, उमेर, पद आदि विवरण सच्याउन दरखास्त दिने र मतदाता नामावलीमा उल्लिखित मतदाताको विरोधमा उजूरी दिन सक्ने छन् । उपनिर्वाचनका लागि तयार भएको नामावली आयोगको वेबसाइट www.election.gov.np समेत प्रकाशन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment