Comments Add Comment

कोरोना संक्रमितको उपचार गर्न बेड तयार पार्दै जनकपुर प्रादेशिक अस्पताल

१६ वैशाख, जनकपुरधाम । प्रदेश २ सरकार मातहत रहेको प्रादेशिक अस्पताल जनकपुरधाममा कोरोना संक्रमितको उपचारका लागि तयारी शुरु गरिएको छ ।

कोरोनाको दोस्रो लहर शुरु भइसकेपछि प्रादेशिक अस्पतालले कोरोना संक्रमितको उपचारका लागि १० वटा हाई डिपेन्डेन्सी युनिट (एचडीयू) बेड तयार गरिसकेको छ । यस्तै १२ वटा आईसीयू बेड तयार भइसकेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले बताए ।

उनका अनुसार ३८ वटा यस्तो बेड र २५ वटा आइसीयू बेड निर्माण गर्ने तयारी स्वरुप तत्काल १० वटा एचडीयू र १२ वटा आईसीयू बेड तयार गरिएको छ । ‘बाँकी बेड तयारी हुने क्रममा छ । केही दिनमै तयारी हुन्छ,’ उनले भने ।

तयार भएको बेडमा अहिले तीनजना कोरोना संक्रमित छन् । यसमध्ये दुईजनाको अवस्था सामान्य छ भने एकजनालाई अक्सिजन दिएर उपचार गरिरहेको छ ।

कोरोना संक्रमितको उपचारका लागि लगभग सबै तयारी भइसकेको उनले बताए । अस्पतालमा चारवटा भेन्टिलेटर रहेकोमा एउटा बिग्रेको छ । बिग्रेको पनि मर्मत भइरहेको भन्दै मेसु यादवले चाँडै मर्मत भइसक्ने बताए ।

अस्पतालमा तत्काल १२३ सिलिण्डर अक्सिजन रहेको भन्दै उनले केही दिनभित्रै ५ सय सिलिण्डर आउन लागेको जानकारी दिए । ‘दुईवटा ग्यास अक्सिजन उद्योगसँग सझौता भएको र ती कम्पनीले कमी हुन नदिने बताएको डा. यादवले बताए ।

अहिले दैनिक १५ देखि २० सिलिण्डर अक्सिजन खपत भइरहेको भन्दै उनले त्यसको अभाव नहुने विश्वास दिलाए ।

उपकरण भएपनि जनशक्तिको अभाव रहेको भन्दै उनले त्यसबारे सामाजिक विकास मन्त्रालयलााई जानकारी गराइसकिएको बताए । ‘सबैभन्दा बढी स्टाफ नर्सको कमी छ,’ उनले भने, ‘चिकित्सक, कन्सल्टेन्सी र केही प्राविधिकको कमी छ । सबैको सूची बनाएर मन्त्रालयलाई दिइसकेको छु । चाँडै पूर्ति हुने विश्वास छ ।’

उपचार केन्द्रमा गम्भीर किसिमका कोभिड बिरामीको मात्रै उपचार गरिनेछ । ‘जटिल अवस्था नभएका कोरोना संक्रमितलाई होम आइसोलेसनमै बस्न भनेका छौं,’ उनले भने, ‘१४ दिनसम्म उनीहरु होम आइसोलेसनमै बस्नेछन् । कुनै समस्या भए मात्रै यहाँ ल्याउँदा हुन्छ ।’

प्रादेशिक अस्पतालमा धनुषासहित महोत्तरी, सर्लाही र सिरहाका बिरामी उपचारका लागि बढी आउने गर्छन् । बिहीबारसम्मको तथ्यांकलाई हेर्ने हो भने धनुषामा मात्रै २४९ जना सक्रिय संक्रमित छन् । महोत्तरीमा ६९ जना सक्रिय संक्रमित छन् भने सर्लाहीमा १६ जना र सिरहामा २९ जना छन् । उनीहरु सबै अहिले होम आइसोलेसनमै बसेका छन् ।

कोरोना लागेर उपचार गर्नुभन्दा लाग्नै नदिनु नै वेस हुने भन्दै डा. यादवले यसका लागि सबैलाई सतर्कता अपनाउन आग्रह गरे । ‘बाहिर निस्किंदा मास्क लगाएर मात्रै निस्किने, भौतिक दूरी कायम गर्ने, भिडभाडमा नजाने, पटक–पटक हात धुने बानी लगाउनैपर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment