Comments Add Comment

उपप्रधानमन्त्रीसँगको भेटमा धुर्मुसले भने : बल्ल सरकार छ भन्ने महसुस भयो

१६ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका विषयमा धुर्मस–सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’सँग छलफल गरेका छन् ।

बिहीबार सिंहदरबारमा भएको भेटमा उपप्रधानमन्त्री पोखरेलले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भइरहेका प्रगति र सरकारले गर्न सक्ने सहयोगका विषयका छलफल गरेका उनको सचिवालयले जनाएको छ ।

‘अनुकरणीय काम गर्नुभएको छ, जुन सपना देख्नुभयो, त्यसमा चुनौती पनि आउँछन्, तर दृढतापूर्वक लाग्नुपर्छ, सबै उठेका प्रश्नको जवाफ कामले दिनुपर्छ’ उनले भने ।

उपप्रधानमन्त्री पोखरेलले राज्यका तर्फबाट रंगशालालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि यसबारे छलफल गर्ने बताए ।
छलफलमा धुर्मुसले रंगशाला निर्माणमा सरकारले चासो दिएकामा धन्यवाद दिए । ‘बल्ल सरकार छ, राज्य छ भन्ने महसुस भयो, नत्र साँच्चिकै टुहुरो महसुस भएको थियो । हामीले निकै पीडा भोग्यौं, धेरैपटक बुढाबुढी रोएका छौं’ उनले भने ।

अहिलेसम्म बिभिन्न क्षेत्र र दाताबाट ३३ करोड संकलन भएकोमा ४६ करोड रुपैयाँ भन्दा बढी खर्च भइसकेकाले १३ करोड ऋण रहेको धुर्मुसले बताए । रकमको जोहो भए ६ महिनादेखि एक बर्षसम्ममा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तयार हुने उनले जानकारी दिए ।

‘हाम्रो कुनै स्वार्थ छैन, विशुद्ध कलाकार हो । जे गरेका हौं, राष्ट्रका लागि गरेका हौं । अन्तर्राष्ट्रियस्तरको सबै मापदण्ड पालना गरेर रंगशाला निर्माण गरिरहेका छौं । सहयोगी मनहरुको सदभावले अगाडि बढ्न धेरै ठूलो उर्जा लिइरहेको छ । त्यसैले कोरोनाको विषम परिस्थितिमा पनि काम रोकिएको छै’ धुर्मुसले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment