Comments Add Comment

प्रदेश २ सरकारले १ हजार भाइल रेम्डिसिभिर खरिद गर्ने

१६ वैशाख, जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना संक्रमितको उपचारका लागि प्रयोग हुने रेम्डिसिभिर १ हजार भाइल खरिद गर्ने भएको छ ।

कोरोना नियन्त्रणबारे उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकमा प्रदेश सरकारले रेम्डिसिभिर खरिद गर्ने निर्णय गरेको हो । संक्रमितका लागि सबै भन्दा महत्वपूर्ण औषधी मानिएको रेम्डिसिभिर १ हजार भाइल तत्काल खरिद गर्ने प्रक्रिया थाल्न स्वास्थ्य आपूर्ति महाशाखालाई सहमति दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

प्रदेश सरकारले थप अक्सिजन सिलिण्डर पनि किन्ने भएको छ । यसका निम्ति प्रदेशभरिको १४ वटा सरकारी अस्पताललाई ५/५ लाखका दरले कोरोना महामारी रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट उपलब्ध गराउने निर्णय गरेको छ ।

आठवटै जिल्लामा पीसीआर परीक्षण मेसिन सञ्चालनमा आइसकेकाले जाँचमा समस्या नरहेको तर संक्रमितको उपचारका लागि थप जनशक्ति परिचालन गर्ने निर्णय बैठकले गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको बैठकमा सामाजिक विकास मन्त्री नवलकिशोर साह, प्रमुख सचिव गोकर्णमणि दुवाडीसहितका सरोकारवाला सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment