Comments Add Comment

३० हजार संक्रमित होम आइसोलेसनमा, एक कल फोन गर्ने कोही छैन

१६ वैशाख, काठमाडौं । नखिपोट, ललितपुरकी उषा राई कोरोना संक्रमित भइ होम आइसोलेसनमा बसेको तीन दिन भयो । उनलाई ज्वरो आउनुका साथै खोकी लाग्ने, घाँटी देख्ने, आँखा पोल्ने, शरीर दुख्ने जस्ता समस्या देखिएको छ ।

गत वर्ष पनि उनलाई कोरोना संक्रमण भएको थियो । त्यसबेला संक्रमित भएको २४ घण्टाभित्रै महानगरपालिका र वडा कार्यलयले फोन गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो ।

यसपटक पाटन अस्पतालमा स्वाब दिएकी उनलाई रिपोर्ट पाउनै तीन दिन लाग्यो । पटकपटक फोन गरेपछि आफू संक्रमित भएको थाहा पाइन् । त्यसपछि कसैले सोधीखोजी गरेको छैन । भन्छिन्, ‘पोहोर त स्थानीय तहहरुले चासो राखेका थिए । ढुक्क पनि भएको थियो । यो पटक त वास्तै गरेको छैन ।’

आफू काम गर्ने कार्यालयको सहयोगमा आफैंले सिटामोल, कफ सिरप मगाएर खाइरहेको उनी बताउँछिन् ।

चाबहिल, काठमाडौंकी ललिता बस्नेत पनि होम आइसोलेसनमा बसेको ६ दिन भयो । निजी ल्याबमा परीक्षण गराएकी उनलाई संक्रमण भएको जानकारी फोनमा दिइएको थियो । त्यसयता होम आइसोलेसनमा बसेकी उनको अवस्थाबारे कसैले सोधीखोजी गरेको छैन । भन्छिन्, ‘एक कल फोन समेत आएको छैन ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ३० हजार नाघेको छ । हरेक दिन भेटिने संक्रमितको सख्या ५ हजार नजिक पुगिसकेको छ । उनीहरुमध्ये अधिकांश होम आइसोलेसनमा बस्छन् । तर उनीहरुले न चिकित्सकीय परामर्श पाएका छन्, न कनै निकायले अनुगमन नै गरेको छ ।

जनस्वास्थ्य विद्हरुका अनुसार गतवर्ष पनि होम आइसोलेसनमा बसेका संक्रमितहरुको राम्रो अनुगमन हुन सकेको थिएन । हरेक दिन फोनमार्फत स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै चिकित्सकीय परामर्श दिने नियम बनाइए पनि कार्यान्वयन प्रभावकारी थिएन ।

यो पटक त गत वर्ष जस्तो पनि छैन ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) ले भने होम आइसोलेसनमा रहेकालाई परामर्श दिने र सहयोग गर्ने काम सम्बन्धित स्थानीय तहको वडा कार्यलयले गर्ने गरी जिम्मा दिइएको बताएको छ । ईडिसिडीका निर्देशक डा. कृष्ण पौडेलका अनुसार हरेक दिन संक्रमितको तथ्यांक सम्बन्धित जिल्लालाई पठाइन्छ । जिल्लाले पालिका हुँदै वडालाई पठाउने भन्दै उनले होम आइसोलेसनमा बसेकाहरूलाई काउन्सिलिङ र सहयोग गर्ने काम वडाले गर्नुपर्ने बताए ।

तर वडाले प्रभावकारी अनुगमन गरेको छैन ।

काठमाडौं महानगरपालिका- ५ अहिले ६८ जना सक्रिय संक्रमित छन् । सबै होम आइसोलेसनमा रहेको वडा क्लिनिककी स्वास्थ्यकर्मी एरिना श्रेष्ठले जानकारी दिइन् । वडा कार्यालयले गतवर्ष होम आइसोलेसनमा बसेका संक्रमितहरुको अवस्था बुझ्न वडाध्यक्षसहित तीन सदस्यीय टोली नै खटाएको थियो । यो टोलीले घरघरमा जाने, औषधि वा परामर्श उपलब्ध गराउने गर्थ्यो ।

त्यही क्रममा वडा सदस्य तथा अनुगमन टोलीकी सदस्य मिना सिंह संक्रमित भइन् । आईसीयूमा भर्ना हुनुपर्‍यो । त्यसपछि अनुगमनमा हिँड्न छाडेको सिंहले बताइन् । उनकाअनुसार वडा कार्यालयले अहिले समस्या भए वडा क्लिनिकको नम्बर वा महानगरको हटलाइन १०२ मा फोन गरेर सहयोग लिन भनिएको छ ।

काठमाडौं महानगरपालिका- १४ ले पनि गत वर्ष जस्तो सक्रियता देखाएको छैन । अहिलेसम्म सम्पर्कमा आएकाहरुको फोनबाट अवस्था बुझ्ने काम मात्रै गरिरहेको छ । वडामा यो एक महिनामा मात्रै ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

सक्रिय संक्रमितमध्ये १३ जना अस्पतालमा र १४४ जना होम आइसोलेसनमा छन् । होम आइसोलेसनमा बसेकामध्ये केहीको मात्रै फोनबाट अवस्था बुझेको वडाध्यक्ष शोभा सापकोटाले बताइन् । भन्छिन्, ‘प्रत्यक्ष अनुगमनमा जान जोखिम छ ।’

ललितपुर महानगरपालिकासँग त अहिलेसम्म सक्रिय संक्रमित कति छन् भन्ने तथ्यांक राखेको छैन । जिल्ला जनस्वास्थ्य कार्यालयले वडामा जानकारी दिन थालेकाले तथ्यांक नभएको महानगरका प्रवक्ता राजु महर्जनले बताए । भन्छन्, ‘महानगरमा जानकारी नहुँदा संक्रमितको अनुगमन तथा व्यवस्थापनमा समस्या भइरहेको छ ।’

होम आइसोलेसनमा बसेकाहरुलाई परामर्श सेवा नभएकाले धेरै संक्रमितले स्वास्थ्य समस्या भोगिरहेका जनस्वास्थ्यविद डा. शरद वन्त बताउँछन् ।

उनका अनुसार होम आइसोलेसनमा बस्ने धेरैले मापदण्ड पालना नगर्ने र धेरै सिकिस्त भएमा के गर्ने भन्ने थाहा नभएकाले झनै संक्रमण विस्तार गरेर जोखिम बढाइरहेका छन् । ‘होम आइसोलेसनको मापदण्ड पुग्ने हाम्रो समाजमा पूर्वाधार र संरचना छैन, त्यसमाथि उनीहरुलाई परामर्श भएको सुनिँदैन’ डा. वन्त बताउँछन् ।

ईडिसिडीका निर्देशक डा. पौडेलले भने अन्य स्वास्थ्य संस्था र निकायलाई पनि होम आइसोलेसनमा बसेकालाई टेलिमेडिसिन सेवा प्रदान गर्न सूचीकृत हुन आह्वान गरिएको बताए ।

‘यसरी वडाले होम आइसोलेसनमा बसेकालाई फोन गरेर काउन्सिलिङ या टेलिमेडिसिन सेवा दिएबापत प्रति संक्रमित २०० देखि ३०० रुपैयाँ विभागबाट पाउनेछ’ डा. पौडेलले भने, ‘संक्रमित स्वयंले पनि होम आइसोलेसनमा बस्दा स्वास्थ्यमा समस्या आइपरे १११५ नम्बरको हटलाइन प्रयोग गरि परामर्श लिन सक्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment