Comments Add Comment

बन्दी प्रत्यक्षीकरण रिट लिएर दीप बस्न्यात सर्वोच्चमा

१७ वैशाख, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व सचिव दीप बस्न्यातले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दिएका छन् ।

उनले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको २०७७ मंसिर २८ गतेको आदेश आधारहीन र प्रमाणहीन हुनुका साथै उक्त आदेशका कारण आफ्नो संविधान प्रदत्त मौलिक हकमा आघात पुगेको दावी गरेका छन् ।

बस्न्यातले विशेष अदालतले लगाएको कसुरमा आफ्नो कुनै संलग्नता देखिने कुनै प्रमाण नरहेको र आफू ६९ वर्ष हुनुका साथै मुटुको रोगी समेत भएको उल्लेख गरेका छन् । उनले अहिले आफूलाई कोरोना संक्रमण भई चाबहिलको ओम अस्पतालको हाई केयर युनिटमा राखेर उपचार गरिरहेको पनि बताएका छन् ।

बस्न्यातले आफ्नो मुटुको शल्यक्रिया नगरे जीवन नै जोखिममा पर्ने अवस्था समेत रहेको भन्दै मानवीय दृष्टिले समेत बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्नुपर्ने उल्लेख गरेका छन् ।

बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गराउने काममा तत्कालिन भौतिक पूर्वाधार मन्त्रालयको सचिवको हैसियतमा संलग्न रहेको भन्दै विशेष अदालतले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको थियो ।

बस्न्यातविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते ९ करोड ६५ लाख रुपैयाँ विगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment