Comments Add Comment

हेटौंडामा २९ वर्ष पानीको अभाव नहुने अध्ययन टोलीको निष्कर्ष

१८ वैशाख, हेटौंडा । हेटौंडामा अबको २९ वर्षसम्म पानीको अभाव नहुने एक अध्ययनले देखाएको छ । हेटौंडामै रहेर ६ महिना लामो अध्ययन गरेको विज्ञ टोलीले अबको २९ वर्षसम्म पानीको स्रोत र सन्तुलनका कारण हेटौंडामा पानीको अभाव नहुने निष्कर्ष निकालेको हो ।

पानीको अभाव नहुने भएकाले हेटौंडामा औद्योगिक क्षेत्र स्थापना र शहरी विकास निर्माणको कार्य गर्न सम्भव हुने प्रतिवेदनमा जनाइएको छ ।

नेपाल पानी सदुपयोग फाउण्डेसनले हेटौंडा उपमहानगरपालिकाभित्र पानी सन्तुलन, अवस्था र भविष्यबारे गरेको अध्ययनपछि विज्ञहरुले हेटौंडामा औद्योगिक विकास र शहरीकरण सम्भवन हुने बताए ।

अध्ययनमा संलग्न जलस्रोत विज्ञ गोविन्द शर्मा पोखरेलका अनुसार करिब २६२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको हेटांैडामा अहिले ७८ करोड २६ लाख घनमिटर पानीको उपलब्धता छ  ।

हेटौंडामा वर्षेनी १४ करोड ८५ लाख घनमिटर पानी खर्च हुने गरेको छ । अध्ययन अनुसार हेटौंडामा अहिले आवश्यकताभन्दा ३ दशमलब ८ गुणा बढी छ । औद्योगिक क्षेत्रको स्थापना र तीव्र शहरीकरण भए पनि सन् २०५० सम्म आवश्यकभन्दा २ दशमलव ३ गुना बढी पानीको उपलब्धता हुने जलस्रोत विज्ञ पोखरेलले दाबी गरे । हेटौंडामा अहिले नयाँ औद्योगिक क्षेत्र स्थापनासँगै शहरीकरण तीव्र रुपमा भइरहेको छ ।

उपमहानगरपालिकाभित्र मासिक औसत १२५ वटा पानीको धारा जडान हुने गरेको छ । हेटौंडाको मुख्य पानीको स्रोत राप्ती, सामरी र कर्रा खोला हुन् भने भूमिगत पानीको रुपमा चुरेक्षेत्र रहेको छ । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले समवेल र ड्रिप बोरिङ गरेर दैनिक एक करोड ६३ लाख लिटर पानी वितरण गर्दै आएको छ ।

वातावरण र पानीको स्रोत बचाउने हिसाबले समवेलवाट पानी संकलन गरेर वितरण गर्नु उपयुक्त भएको जलस्रोत विज्ञ दिपक ज्ञवालीले बताए ।

पानीको उपलब्धताको अध्ययन नगरी नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने र नयाँ शहर निर्माण गर्न नहुने विज्ञहरुले सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment