Comments Add Comment

कोरोना संक्रमणबाट भारतीय नागरिकसहित चारजनाको मृत्यु

१९ वैशाख, विराटनगर । प्रदेश १ मा कोरोना संक्रमणका कारण थप चारजनाको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्र, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र विराट मेडिकल कलेजमा संक्रमितको मृत्यु भएको हो ।

मृतकमध्ये एकजना भारतीय नागरिक हुन् । मोरङको बुढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा आइतबार बिहान ७ः१० बजेतिर ३० वर्षीय भारतीय नागरिकको मृत्यु भएको हो । नेपालसँग सिमाना जोडिएको भारत जोगवनीका ३० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवले जानकारी दिए । व्यापारको सिलसिलामा जोगवनीबाट नेपाल आएका उनी आफन्तको घरमा बस्दै आएका थिए । कोरोना पुष्टि भएपछि उनलाई वैशाख १० गते उपचारका लागि भर्ना गरिएको थियो । मृतकमा निमोनियाको पुरानै समस्या रहेको अस्पतालले जनाएको छ ।

कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–६ की ६८ वर्षीया वृद्धाको आइतबार बिहान ६ः४० बजेतिर मृत्यु भएको छ । वृद्धालाई वैशाख १६ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । सोही अस्पतालमा सुनसरी ठेगाना भएकी ६० वर्षीया वृद्धा महिलाको शनिबार राति ९ बजेतिर मृत्यु भएको उपचार केन्द्रले जनाएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ५९ वर्षीय पुरुषको मृत्यु भएको छ । उच्च रक्तचापका बिरामी पुरुषमा वैशाख १३ गते कोरोना पोजेटिभ देखिएकोमा त्यसको भाेलिपल्ट उनी भर्ना भएका थिए । शनिबार उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment