१९ वैशाख, बुटवल । नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले विमला वलीले माओवादी केन्द्र रोजेको सूचना मुख्यमन्त्री शंकर पोखरेललाई भएको दाबी गरेकी छन् ।
पोखरेलले आइतबार विहान मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । लगत्तै नेकपा एमालेले प्रदेशसभामा हाल कायम सदस्य ८१ को बहुमत अर्थात ४१ सदस्य आफूसँग भएकाले संविधानको धारा १६८ (१) अनुसार पोखरेलकै नेतृत्वमा एकल बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुखसामू दाबी पेश गरेको थियो ।
तर दाङ ३ (ख) मा भएको उपचुनावमा साबिकको नेकपाबाट निर्वाचित विमला वलीले माओवादी केन्द्र रोजेपछि एमालेको एकल बहुमतको दाबी खण्डित भएको छ ।
माओवादी केन्द्रकी प्रदेश ५ अध्यक्ष घर्तीका अनुसार प्रदेशसभा सदस्य वलीले २५ चैतमा नै माओवादी केन्द्र रोज्न पाउँ भनेर संसदीय दलमा निवेदन दिएकी थिइन् र एमाले संसदीय दलको बैठकमा सहभागी भएकी थिइनन् ।
त्यो जान्दाजान्दै पोखरेलले एकल बहुमतको सरकारका लागि दाबी गर्न नसुहाउने उनले बताइन् । ‘आफूसँग बहुमत नभएपछि मुख्यमन्त्रीले राजीनामा दिनुभयो । यसका लागि धन्यवाद नै दिन्छु’ उनले भनिन्, ‘तर शंकर पोखरेल जत्तिको नेताले आफूसँग नभएको बहुमत छ भनेर दाबी गर्न सुहाउँदैन ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4