 
																						१९ वैशाख, धनगढी । कोरोना संक्रमण पुष्टि भएपछि पूर्वस्वास्थ्यमन्त्री रामजनम चौधरी दम्पती चार दिनदेखि सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पताल भर्ना भएका छन् । कैलालीका बासिन्दा चौधरीको अवस्था सामान्य भएपनि उनकी श्रीमतीलाई अक्सिजन सपोर्टको आवश्यकता परेको थियो ।
तर सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिण्डर नै नपाएपछि चौधरीले धनगढीकै सारथी अस्पतालबाट धरौटी बुझाएर सिलिण्डरको जोहो गरेका छन् । ‘मलाई अक्सिजन सपोर्टको आवश्यकता परेन,’ चौधरीले अनलाइनखबरसँग भने, ‘श्रीमतीको श्वासप्रश्वासमा समस्या देखिएपछि डाक्टरले अक्सिजन सपोर्ट चाहिन्छ भने तर यहाँ अक्सिजन सिलिण्डर नै पाइएन । मेरो एकजना साथीले १० हजार रुपैयाँ धरौटी राखेर सारथी अस्पतालबाट ल्याएर अहिले अक्सिजन दिइरहेका छौं ।’
उनले कोरोना संक्रमित बढ्दै गएका कारण सेती प्रादेशिक अस्पतालमा संक्रमितको दर्दनाक अवस्था रहेको बताउँदै अक्सिजनको चरम अभाव भइसकेको जनाए । ‘अक्सिजनको चरम अभाव भइसक्यो । कोभिड अस्पतालका शय्या भरिएर भुइँमा राखेर संक्रमितको उपचार भइरहेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा मैले त जेनतेन श्रीमतीको लागि अक्सिजनको व्यवस्थापन गरे । गरिब जनता के गर्लान् ? जसलाई साँझ बिहानको छाक टार्न धौ धौ परिरहेको छ । त्यसैले सरकारले विकास निर्माणका काम सबै रोकेर जनता बचाउन ध्यान दिनुपर्छ ।’
उनले अस्पतालको हविगतबारेमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेदेखि कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालसम्मलाई जानकारी गराइसकेको समेत बताए ।
पूर्वमन्त्री चौधरीले आफ्नो कार्यकालमा सुदूरपश्चिमको स्वास्थ्य सेवा सुधार गर्ने उपकरण थप्नेदेखि जनशक्ति व्यवस्थापनका काम गरेको बताउँदै अहिलेको महामारीसँग जुध्न मौज्दात संरचना पर्याप्त नभएकाले सरकारले विकास खर्च कटाएर स्वास्थ्य क्षेत्रमै लगानी गर्नुपर्ने बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4