News Summary
Generated by OK AI. Editorially reviewed.- तेह्रथुमका लम्बुखोला र खोरङवा खोलामाथिका झोलुङ्गे पुल सडक विस्तार र पक्की पुल बनेसँगै प्रयोगविहीनजस्तै भएका छन्।
- कुनै समय ती पुलबाट म्याङलुङ पुग्ने ग्रामीण बासिन्दाले पैदल यात्रा, खोला तर्ने जोखिम र वर्षायामको कठिनाइ झेलेका थिए।
- सडक र सवारीसाधनको पहुँच बढेपछि कृषि उपज ढुवानी, बजार आवतजावत र सरकारी कामकाजमा स्थानीयलाई सहज भएको छ।
९ कात्तिक, तेह्रथुम । कुनै समय तेह्रथुमका ग्रामीण बस्तीलाई जिल्ला सदरमुकाम म्याङलुङसँग जोड्ने प्रमुख माध्यम बनेका झोलुङ्गे पुल पछिल्लो समय प्रयोगविहीनजस्तै बन्दै गएका छन् ।
सडक विस्तार र पक्की पुल निर्माणसँगै सवारीसाधनबाट आवतजावत सहज भएपछि लम्बुखोला र खोरङवा खोलामाथिका झोलुङ्गे पुलमा स्थानीयको चहलपहल घट्दै गएको हो । कुनै समय बजार पुग्न, कृषि उपज बिक्री गर्न र सरकारी कामकाजका लागि पैदल यात्रा गर्ने स्थानीयका लागि यी पुल जीवनरेखा बनेका थिए ।
तीन–चार दशकअघि सडक र सवारीसाधनको पहुँच सीमित हुँदा ग्रामीण बस्तीबाट सदरमुकाम पुग्न घण्टौँ पैदल हिँड्नुपर्थ्यो । दैनिक उपभोग्य सामग्री खरिद गर्न, खेतबारीमा उत्पादन भएका अन्न तथा तरकारी बिक्री गर्न र सरकारी कामकाजका लागि स्थानीय बिहानै घरबाट निस्कन्थे । बजार पुगेर साँझ घर फर्किने उद्देश्यले उनीहरू बिहान तीन-चार बजे नै उठेर अँध्यारो बाटोमा राँको बाल्दै हिँड्थे ।
डोकोमा कृषि उपज बोकेर बजार जाने किसान फर्किंदा नुन, तेल, चामल, लत्ताकपडा र घरायसी आवश्यकताका सामान ल्याउँथे । तर लामो पैदल यात्राका क्रममा छथर क्षेत्रका बासिन्दाले लम्बुखोला र फेदाप क्षेत्रका बासिन्दाले खोरङवा खोला पार गर्नुपर्ने बाध्यता थियो । विशेषगरी वर्षायाममा खोलामा पानीको बहाव बढ्दा वारिपारि गर्न नसकेर रोकिनुपर्ने अवस्था आउँथ्यो ।
छथर गाउँपालिका-५ का ८० वर्षीय प्रेमबहादुर लिम्बुका अनुसार तत्कालीन सुदाप र ओख्रे गाविस क्षेत्रका बासिन्दाले असार, साउन, भदौ र असोजमा खोला बढ्दा आवतजावतमा निकै समस्या भोग्नुपर्थ्यो ।
पानीको बहाव नघटेसम्म वारिपारि गर्न नसकिने भएकाले बजार जानेदेखि दैनिक कामकाजसम्म प्रभावित हुन्थे । छथरसँगै फेदाप क्षेत्रका बासिन्दाले पनि यस्तै समस्या सामना गर्नुपरेको उनी बताउँछन् ।
छथर गाउँपालिका–५ का ८८ वर्षीय धनसिंह लिम्बुका अनुसार गाउँबाट बजार पुग्न पैदल यात्राकै भर पर्नुपर्थ्यो । खेतबारीमा उत्पादन भएका वस्तु बिक्री गरेर घरखर्च चलाउने र बजारबाट आवश्यक सामग्री खरिद गरेर ल्याउने चलन थियो । तर, बाटोमा पर्ने खोलाले यात्रा कठिन बनाउँथ्यो । खोला बढेका बेला वारिपारि गर्न नसक्दा बजार पुग्ने योजना मात्रै होइन, दैनिक जीवनसँग जोडिएका कामसमेत प्रभावित हुने गर्थे ।
छथर गाउँपालिका–५ ओख्रेका ८४ वर्षीय इन्द्रबहादुर लिम्बुका अनुभवमा गाउँलेहरू बिहानै राँको बालेर डोकोमा कृषि उपज बोकी बजार जान्थे । हिउँदमा तुलनात्मक रूपमा सहज भए पनि वर्षायाममा पानीको बहाव बढ्दा खोला तर्न जोखिम मोल्नुपर्थ्यो । खोला तर्न सक्नेहरू वारपार गर्थे भने अरूले पानीको सतह घट्ने प्रतीक्षा गर्नुपर्ने अवस्था थियो ।
पुल बनेपछि सहज भएको आवतजावत

खोलामा पुल नहुँदा वारपार गर्न कठिनाइ हुने र दैनिक कामकाज प्रभावित हुने अवस्थाबीच झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयको आवतजावत सहज बन्यो । किसानलाई कृषि उपज बजार पुर्याउन, सर्वसाधारणलाई आवश्यक सामग्री खरिद गर्न तथा विद्यार्थीलाई विद्यालय आउजाउ गर्न पुलले सहयोग पुर्याए । एक बस्तीबाट अर्को बस्तीमा पुग्न र खोला बढेका बेला वारपार गर्न पनि यी पुल उपयोगी बने ।
स्थानीय तह स्थापना हुनुअघि जिल्ला सदरमुकाम म्याङलुङ प्रशासनिक तथा विकास निर्माणसम्बन्धी कामको प्रमुख केन्द्र थियो । गाउँमा सञ्चालन हुने योजनाको सम्झौता, भुक्तानी र फर्छ्योटका लागि उपभोक्ता समितिका पदाधिकारी सम्बन्धित कार्यालय पुग्नुपर्थ्यो । व्यक्तिगत प्रशासनिक काम लिएर जाने सर्वसाधारणका लागि पनि सदरमुकाम पुग्नु बाध्यता थियो ।
टेकराज तिगेलाका अनुसार सरकारी कामकाजका लागि सदरमुकाम जानुपर्ने स्थानीयले लामो पैदल यात्रा गर्नुपर्थ्यो । बाटोमा पर्ने खोला र नदी पार गर्नुपर्ने तथा वर्षायाममा पानीको बहाव बढ्दा यात्रा कठिन हुने गरेको थियो । एउटै कामका लागि पटकपटक सदरमुकाम जानुपर्दा समय र खर्च दुवै बढ्ने अवस्था थियो । त्यतिबेला झोलुङ्गे पुलले सर्वसाधारण र उपभोक्ता समितिका पदाधिकारीलाई आवतजावतमा सहजता प्रदान गरेका थिए ।
पक्की पुल र सडकले फेरिएको ग्रामीण यात्रा
समयक्रममा गाउँगाउँसम्म सडक विस्तार भयो । पक्की पुल निर्माण र साना–ठूला सवारीसाधनको पहुँच बढेपछि पहिले पैदल हिँडेर झोलुङ्गे पुल पार गर्दै बजार पुग्ने मानिसले सडकबाट यात्रा गर्न थाले । कृषि उपज ढुवानी गर्न पनि सवारीसाधन सहज माध्यम बने । यससँगै लम्बुखोला र खोरङवा खोलामाथिका झोलुङ्गे पुलमा हुने चहलपहल घट्दै गएको छ ।
सडक विस्तारले ग्रामीण बासिन्दाको दैनिकीमा परिवर्तन ल्याएको छ । पहिले कृषिजन्य सामग्री बोकेर घण्टौँ पैदल हिँड्नुपर्ने किसान अहिले सडक पुगेका ठाउँमा सवारीसाधनबाट उत्पादन बजारसम्म पुर्याउन सहज बनेको छ ।
खाद्यान्न तथा घरायसी सामग्री खरिद गर्न, बिरामीलाई उपचारका लागि लैजान र सरकारी कामका लागि यात्रा गर्न पनि पहिलेभन्दा राहात मिलेको छ । स्थानीय तहबाटै धेरै प्रशासनिक सेवा उपलब्ध हुन थालेपछि सामान्य कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता पनि घटेको छ ।
यातायातको स्वरूप परिवर्तनसँगै कुनै समय गाउँ र सदरमुकाम जोड्ने महत्वपूर्ण माध्यम बनेका झोलुङ्गे पुलको प्रयोग कम हुँदै गएको हो । सडक र पक्की पुलको पहुँच पुगेका स्थानमा स्थानीयले छिटो र सहज यात्रा गर्न वैकल्पिक मार्ग रोज्न थालेका छन् । त्यसैले विगतमा दैनिक आवतजावतले व्यस्त रहने पुल अहिले कम प्रयोग हुने संरचनाका रूपमा देखिन थालेका छन् ।
कुनै समय खोला बढ्दा वारिपारि गर्न नसकेर रोकिनुपर्ने र बिहानै राँको बालेर सदरमुकाम पुग्न हिँड्नुपर्ने गाउँलेका लागि झोलुङ्गे पुल दैनिक जीवनको महत्वपूर्ण आधार थिए । अहिले सडक र पक्की पुलले यात्रा सहज बनाएका छन् । त्यससँगै झोलुङ्गे पुलमा मानिसको पाइला पातलिएको छ । यी पुलको बदलिँदो अवस्था ग्रामीण क्षेत्रमा भएको विकास र विगतको कठिन यात्राबाट सहज जीवनतर्फ भएको परिवर्तनको साक्षी बनेको छ ।
प्रतिक्रिया 4