
१९ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट आइतबार एकैदिन ८ जना संक्रमितको मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका ६ जना र सल्यानका २ जना गरी कुल ८ जना संक्रमितको आइतबार मृत्यु भएको हो ।
ओलीका अनुसार होमआइसोलेसनमा बसेकी कोहलपुर नगरपालिका–२ की ६९ वर्षीया महिलाको आइतबार मृत्यु भएको उनले बताए । स्वास्थ्यमा थप समस्या आएपछि अस्पताल ल्याउने तयारी गर्दा गर्दै घरमै उनको मृत्यु भएको ओलीले बताए ।
बैजनाथ गाउँपालिका–७ की ५८ वर्षीया महिलाको नेपालगञ्जस्थि नर्सिङ होममा मृत्यु भएको उनले बताए । उनीमा वैशाख ७ गते संक्रमण पुष्टि भएको थियो ।
यसैगरी आइतबार नै कोहलपुर नगपालिका–१५ का ४२ वर्षीय पुरुषको उपचारको क्रममा आयुर्बेद अस्पतालमा मृत्यु भएको उनले बताए । उनीमा वैशाख १० गते संक्रमण पुष्टि भएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिका–१० की ४४ वर्षीया महिलाको भेरी अस्पतालमा आइतबार दिउँसो ४ बजे मृत्यु भएको उनले बताए । उनीमा वैशाख १४ गते संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएको तीन दिनपछि वैशाख १७ गते उनी भेरी अस्पतालमा भर्ना भएकी थिइन् ।
बाँकेको जानकी गाउँपालिका–४ की २३ वर्षीया महिलाको आइतबार बिहान ११ः३० बजे मृत्यु भएको हो । खजुरा–४ का ८२ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा आइतबार साँझ ७ बजे मृत्यु भएको उनले बताए । वैशाख १८ गते भर्ना भएका उनीमा आइतबार मात्रै रिपोर्ट पोजेटिभ आएको थियो ।
सल्यानको बनगाड कुपिन्डे–१ का ३७ वर्षीय पुरुषको भेरी अस्पतालमै आइतबार दिउँसो ३ बजे मृत्यु भएको ओलीले बताए । उीनमा वैशाख ८ गते संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै वैशाख १० गते उनी भेरी अस्पतालमा भर्ना भएका थिए ।
सल्यानकै बागचौर नगरपालिका–१२ का ५२ वर्षीय पुरुषको पनि भेरी अस्पतालमा आइतबार बिहान ११ः५५ बजे मृत्यु भएको उनले बताए ।
बाँकेमा शनिबार एकै रातमा चार जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
प्रतिक्रिया 4