Comments Add Comment

गण्डकीमा पौडेल र सुदूरपश्चिममा यादव प्रदेश प्रमुख नियुक्त

२० वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।

सोमबार मन्त्रिपरिषद बैठकको सिफारिशमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका हुन् ।

गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख थिए, उनीहरु पदमुक्त भएका छन् । यसअघि एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि प्रदेशप्रमुख नियुक्त भएका उनीहरु माओवादी केन्द्रमा आवद्ध थिए ।

माओवादी केन्द्रमै आवद्ध रहेका तिलक परियार प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त भइसकेका छन् ।

गण्डकी प्रदेश प्रमुख पौडेल भने लामो समयदेखि कम्युनिस्ट पार्टीमा आवद्ध छिन् । नेकपा एमालेको केन्द्रीय सदस्य उनी प्रधानमन्त्री कार्यालयमा विज्ञ सल्लाहकार समूहमै छिन् । उनी एमालेको महिला संगठन अखिल नेपाल महिला संघको महासचिव थिइन् ।

‘उहाँ निरन्तर कम्युनिस्ट आन्दोलनमा निरन्तर खटिनुभएकी व्यक्ति हो । महिला आन्दोलनमा उहाँले नेतृत्व नै गर्नुभएको थियो,’ प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले भने, ‘पौडेललाई गण्डकी प्रदेश प्रमुख बनाएर प्रधानमन्त्रीले न्याय गर्नुभएको छ ।’

नेकपा विभाजन हुँदा पौडेल ओली समूहमै लागेकी थिइन् । उनको परिवार नै राजनीतिमा सक्रिय रहेको सांसद अधिकारीले जानकारी दिए । एमाले गण्डकी प्रदेशका सहइन्चार्ज किरण गुरुङका अनुसार पौडेल भूमिगत कालदेखि नै सक्रिय महिला नेतृ हो ।

सुदूरपश्चिम प्रदेशको प्रमुखमा नियुक्त भएका गंगा प्रसाद यादव सप्तरीका बासिन्दा हुन् । हनुमाननगर कंकालिनी नगरपालिका–८ योगिनियाँ निवासी यादव केही बर्षअघि मात्रै नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

शाहीकालमा राजा ज्ञानेन्द्र निकट रहेका यादव २०६१ सालमा जिल्ला विकास समितिको उप सभापतिमा मनोनीत भएका थिए । त्यसअघि उनी तत्कालिन योगिनियाँ गाविसका प्रधानपञ्च र जिल्ला विकास समितिका सदस्य थिए ।

२०६२/६३ को जनआन्दोलनपछि उनी कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका थिए । सोही पार्टीबाट उनलाई २०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा समानुपातिक सांसद बनाइएको थियो ।
समानुपातिक सांसद बनेका उनी सोही पार्टीको सिफारिसमा संविधानसभाको उपसभामुख बनेका थिए ।

२०७४ सालमा भएको प्रतिनिधी सभा निर्वाचनअघि उनी तत्कालिन नेकपा एमालेमा प्रवेश गरेका थिए । त्यस बेला एमालेले उनलाई समानुपातिक सूचीमा राखपनि सांसद भने बन्न पाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment