Comments Add Comment

तीनवटा अस्पतालले भर्ना लिएनन्, घर फर्केपछि लडेर मृत्यु

२१ वैशाख, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–४ का लोकबहादुर परियारलाई पछिल्लो पाँच दिन यता रुघाखोकीले सताएको थियो ।

स्थानीय बजारमा होटल सञ्चालन गर्दै आएका उनले पसलबाट औषधि किनेर खाँदै आएका थिए । सोमबार साँझ असहज भएपछि केही साथीको सहयोगमा एम्बुलेन्स बोलाएर उनी जनकपुरधाम पुगे । प्रादेशिक अस्पतालसहित केही निजी अस्पतालमा उपचारका लागि कोशिस गरे । तर भर्ना भने कसैले लिएनन् ।

सोमबारै राति नै घर फर्केका उनलाई मंगलबार बिहान ५ बजेतिर सास फेर्न असहज भयो । नजिकैको आरपी मेडिकल जान लाग्दा एक्कासी लडेर मृत्यु भएको वडा सदस्य रामबाबु रविदासले बताए ।

‘उहाँको श्रीमती र छोराछोरी ५ महिना अगाडि नै निजी कामका लागि भारतको दिल्ली गएपछि उहाँ एक्लै होटेल सञ्चालन गर्दै आउनुभएको थियो,’ वडा सदस्य रविदासले भने, ‘सोमबार स्वास्थ्यमा समस्या आएपछि एम्बुलेन्स बोलाएर जनकपुरधाम जानुभयो । तर, रकम अभावमा भर्ना हुन नपाउँदा फर्केर आएको सूचना पाएको छु ।’

परियारमा कोरोनाको जस्तै लक्षण रुघाखोकी लागेको थियो । रुघाखोकीले सास लिन नै कठिनाइ भएपछि उनी उपचारका लागि जनकपुरधाम गएका थिए ।

‘उहाँलाई अक्सिजनको कमी देखिएको थियो,’ परियारलाई लिएर जनकपुरधाम गएका एम्बुलेन्सका चालक रामबाबु महतोले भने, ‘अक्सिजन हालेरै जनकपुरधामको जानकी हेल्थ केयर र रामजानकी अस्पताल लग्यौं । तर, ती दुवै अस्पतालमा रकम डिपोजिट गर्न भनेपछि परिवारले नै जम्मा गरेनन् ।’

यसपछि उनलाई प्रादेशिक अस्पताल जनकपुरधाम पनि लगिएको महतोले बताए । ‘त्यहाँ उनलाई भर्ना नै गरेनन,’ एम्बुलेन्स चालक महतोले भने, ‘भर्ना लिन नपाएपछि उहाँले घर छाडिदिन भन्नुभयो । र, मैले घर छाडिदिएँ ।’

कोरोनाको जस्तै लक्षण देखापरेका परियारको मृत्यु भएपछि उनको स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली बोलाइएको वडाध्यक्ष दीपरमण दाहालले बताए । ‘स्वाब संकलनपछि अन्य काम अगाडि बढाउँछौं,’ उनले भने ।

निजी अस्पतालले रकम जम्मा गर्न भनेपनि प्रदेश सरकारअन्तर्गत रहेको प्रादेशिक अस्पतालले समेत उनलाई भर्ना नगरेको विषयमा बुझ्ने काम भइरहेको वडा सदस्य रवीदासले बताए । यस सम्बन्धमा बुझ्न खोज्दा प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवको फोन नम्बर उठेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment