+
+
Shares

धनुषामा सद्भाव र्‍याली निकाल्ने सर्वपक्षीय निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १७:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरी घटनापछि धनुषामा उत्पन्न तनाव नियन्त्रण गर्न सर्वपक्षीय सद्भाव समितिले शान्ति तथा सामाजिक सद्भाव कायम राख्ने निर्णय गरेको छ ।
  • प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार सामाजिक सञ्जालमा भ्रम फैलाउने र घृणास्पद टिप्पणी गर्ने कार्य निरुत्साहित गर्न सबै पक्षलाई सचेत गराइएको छ ।
  • धनुषाका सबै स्थानीय तहमा आपसी भाइचारा र धार्मिक सहिष्णुता प्रवर्द्धन गर्न सद्भाव र्‍याली आयोजना गर्ने निर्णय भएको छ ।

१५ साउन, जनकपुरधाम । सुनसरी घटना पश्चात् जनकपुरधामसहित धनुषा जिल्लामा भइरहेका प्रदर्शनपछि उत्पन्न शान्ति–सुरक्षा अवस्थाबारे समीक्षा गर्दै सर्वपक्षीय सद्भाव समितिले सामाजिक सद्भाव कायम राख्न विभिन्न निर्णय गरेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार सर्वपक्षीय सद्भाव बैठकले जिल्लाको शान्ति, सुरक्षा र सामाजिक सद्भाव सुदृढ बनाउन सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय गरेको हो ।

बैठकले जनकपुरधामसहित जिल्लाभर सामाजिक सद्भाव, शान्ति–सुरक्षा र अमनचयन कायम राख्न सबै धर्म, समुदायका अगुवा, नागरिक समाज, बुद्धिजीवी, राजनीतिक दल, संघसंस्था, स्थानीय तहका जनप्रतिनिधि तथा सञ्चारकर्मीले आफ्नो–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।

साथै नागरिकबीच आपसी सद्भाव, भाइचारा र धार्मिक सहिष्णुता कायम गर्न आवश्यक पहल र सहयोग गर्न पनि सबै सरोकारवालासँग आग्रह गरिएको छ ।

बैठकले सामाजिक सञ्जालमार्फत भ्रामक अफवाह फैलाउने, पुराना घटनालाई तोडमोड गरेर प्रचार गर्ने, धर्म तथा सम्प्रदायबीच घृणा र वैमनस्य फैलाउने तथा अमर्यादित टिप्पणी गरेर सामाजिक सद्भाव बिगार्ने गतिविधिलाई निरुत्साहित गर्न सबै पक्षलाई सचेत रहन आह्वान गरेको छ ।

यस्तै, विभिन्न धर्म, जातजाति, भाषाभाषी तथा समुदायबीच आपसी सद्भाव, भाइचारा र धार्मिक सहिष्णुता प्रवर्द्धन गर्न जनकपुरधाममा सद्भाव र्‍याली आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ।

उक्त अभियानमा सबै राजनीतिक दल र सरोकारवालाको सहभागिता रहने तथा जिल्लाका सबै स्थानीय तहलाई समेत आ–आफ्नो क्षेत्रमा सद्भाव र्‍याली आयोजना गर्न अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी लुइँटेलले जानकारी दिए ।

उनका अनुसार बैठकले पछिल्ला घटनापछि जिल्लामा शान्तिपूर्ण वातावरण कायम राख्न सबै पक्षले संयमता अपनाउँदै आपसी विश्वास र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?