News Summary
Generated by OK AI. Editorially reviewed.- धनुषाको ढल्केबर–जटही सडकखण्डमा बसही खोलाको निर्माणाधीन पुल समयमै सम्पन्न नहुँदा स्थानीयवासी र यात्रुले ठूलो सास्ती खेपिरहेका छन् ।
- निर्माण व्यवसायीको लापरवाहीका कारण २०७८ असारमा सम्पन्न हुनुपर्ने पुलको काम हालसम्म ४० प्रतिशत मात्रै भएको सडक डिभिजन कार्यालय जनकपुरले जनाएको छ ।
- साँघुरो पुलका कारण दुर्घटनाको जोखिम बढेपछि कार्यालयले निर्माण व्यवसायीलाई कारबाही प्रक्रिया अघि बढाएको प्रमुख दरोगाप्रसाद साहले बताउनुभयो ।
४ साउन, जनकपुरधाम । धनुषाको ढल्केबर–जटही सडकखण्डअन्तर्गत मिथिला नगरपालिका–६ स्थित बसही खोलामा निर्माणाधीन पुल वर्षौंदेखि सम्पन्न हुन नसक्दा स्थानीयवासी र यात्रुले सास्ती खेपिरहेका छन् । निर्माणमा भएको ढिलाइका कारण उक्त स्थान दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्रसमेत बनेको छ ।
ढल्केबरदेखि जटहीसम्मको सडक ६ लेनमा विस्तार भइसके पनि बसही खोला पार गर्न अझै पुरानै साँघुरो पुल प्रयोग गर्नुपर्ने बाध्यता छ । फराकिलो सडकबाट तीव्र गतिमा आएका सवारीसाधन साँघुरो पुलमा प्रवेश गर्दा चालक झुक्किने र दुर्घटना हुने क्रम बढेको स्थानीयको भनाइ छ ।
स्थानीय विजय साहका अनुसार निर्माण व्यवसायीको लापरवाहीका कारण वर्षौंदेखि पुल निर्माण अलपत्र परेको छ । यस अवधिमा उक्त क्षेत्रमा धेरै दुर्घटना भइसकेका छन् भने मानवीय क्षतिसमेत भएको उनले बताए । उनका अनुसार निर्माणस्थलमा राखिएका सामग्रीमा समेत खिया लाग्न थालेको छ ।
सडक डिभिजन कार्यालय जनकपुरका अनुसार १४ करोड ८ लाख २३ हजार रुपैयाँ लागतमा नागार्जुन–हेक कन्स्ट्रक्सन जेभीसँग २०७६ असार ३१ गते निर्माण सम्झौता भएको थियो । २०७८ असार मसान्तभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म करिब ४० प्रतिशत मात्रै निर्माण सम्पन्न भएको छ ।
सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख दरोगाप्रसाद साहका अनुसार पटक–पटक म्याद थप्दा पनि निर्माण व्यवसायीले अपेक्षित प्रगति नगरेपछि कारबाही प्रक्रिया अघि बढाइएको छ । सोही प्रक्रियाका कारण अहिले निर्माण कार्य रोकिएको उनले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालले पुरानो साँघुरो पुलका कारण दुर्घटनाको जोखिम बढेको बताए । उनका अनुसार फराकिलो सडकबाट आउने सवारीसाधन एक्कासि साँघुरो पुलमा पुग्दा चालक अलमलिने गरेका छन् । जोखिम न्यूनीकरणका लागि ट्राफिक संकेत राखिए पनि चालकको असावधानीका कारण दुर्घटना रोक्न चुनौती भइरहेको उनले बताए ।
नेपाल–भारत व्यापार, जनकपुरधामको धार्मिक पर्यटन तथा मधेश प्रदेशको यातायात सञ्जालका दृष्टिले महत्वपूर्ण मानिने यस सडकखण्डमा पुल निर्माण सम्पन्न नहुँदा आवागमन मात्र होइन, स्थानीय आर्थिक गतिविधिसमेत प्रभावित भएको जनकपुरधाम उपमहानगरपालिकाका दीपेन्द्र तिवारीले बताए ।
स्थानीयवासी तथा व्यवसायीले राष्ट्रिय महत्वको यस सडक आयोजनाअन्तर्गत बसही खोलाको पुल यथाशीघ्र निर्माण सम्पन्न गर्न सरकारसँग माग गरेका छन् ।
–राससबाट
प्रतिक्रिया 4