Comments Add Comment

बेनीमा आजदेखि निषेधाज्ञा

फाइल तस्वीर

२३ वैशाख, काठमाडौं । दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी नगरपालिका क्षेत्रमा बिहीबारदेखि निषेधाज्ञा गरेको छ । बेनी नगरपालिका र जिल्ला कोभिड नियन्त्रण संकट व्यवस्थापन केन्द्रको सिफारिसको आधारमा वैशाख २२ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बेनी नगरपालिका क्षेत्रमा नौ दिन निषेधाज्ञा जारी गरेर अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको बताए । चिकित्सक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, राजनीतिकर्मी र संघसंस्थाका प्रतिनिधिले कोरोना रोकथामका लागि निषेधाज्ञा गर्न आग्रह गरेका थिए ।

म्याग्दीमा हाल १०२ जना सक्रिय सङ्क्रमित छन् । २३ संक्रमित उपचारपछि निको भएका स्वास्थ्य कार्यालयले जनाएको छ । वैशाख १९ गते संकलन गरिएको ४२ वटा स्वाबको नमुना परीक्षण गर्दा मंगलबार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिकाको वडा नम्बर ४ मा पर्ने सिंगा तातोपानी बजार पछिल्लो समय कोरोनाको हटस्पट बनेको छ । सदरमुकाम बेनीका साथै ग्रामीण क्षेत्रमा पनि तीव्र रुपमा कोरोनाको सङ्क्रमण फैलिएको छ ।

निषेधाज्ञामा औषधि उपचार, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्ने, तोकिएको समयमा खाद्यवस्तु खरिद गर्नेजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन र हिंडडुल गर्न पाउने छैनन् ।

अस्पताल, औषधि एवं स्वास्थ्य सामग्रीका पसल २४सै घण्टा खुल्नेछन् भने तरकारी, फलफूल, डेरीजन्य उत्पादन, ग्यासलगायतका अत्यावश्यक सेवाका पसल स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गरी बिहान ७ देखि १० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।

यसैगरी म्याग्दीको धवलागिरि गाउँपालिका, वडा र सेवा केन्द्रका कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । धवलागिरिको ताकम र लुलाङ कोरोनाको हटस्पट बनेको अध्यक्ष थमसरा पुनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment