Comments Add Comment

ललितपुरका चार अस्पताललाई अक्सिजन सिलिण्डर

फाइल तस्वीर

२३ वैशाख, काठमाडौं । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ललितपुरले चार वटा अस्पताललाई बिहीबार अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।

विभिन्न प्रतिष्ठान तथा कवाडी पसलहरुबाट संकलित अक्सिजन सिलिण्डर कोरोना संक्रमित बिरामीको उपचार गराइरहेका ४ वटा अस्पताललाई वितरण गरिएको ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५० थान, इमाडोलस्थित किष्ट अस्पताललाई ३० थान, चापागाउँमा रहेको बज्रबाराही अस्पताललाई १० थान र जाउलाखेलमा रहेको अल्का अस्पताललाई १५ थान अक्सिजन सिलिण्डर उपलब्ध गराइएको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरले संकलन गरेको अक्सिजन सिलिण्डर बिहीबार बसेको डीसीसीएमसीको बैठकले संक्रमितको चाप रहेको अस्पताललाई उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार संकलित १०५ थान अक्सिजन सिलिण्डर आवश्यकता अनुसार अस्पताललाई वितरण गरिएको उनले बताए ।

अक्सिजन अभावमा संक्रमितको उपचारमा समस्या आएपछि सरकारले सबै उद्योगी, व्यवसायी र सरोकारवालालाई अक्सिजन सिलिण्डर फिर्ता गरिदिन आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment