Comments Add Comment

अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग ‘संकटमा’

२५ वैशाख, काठमाडौं । कोभिड महामारी जटिल बन्दै जाँदा त्यसको असर अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगहरुमा पनि पर्न थालेको छ ।

कोभिड असुरक्षाका कारण अत्यावश्यक वस्तुहरुको उत्पादन गर्ने उद्योग सञ्चालन सात प्रतिशतमा झरेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ ।

संकट गहिरिदै जाँदा देशभरका खाद्यान्न उत्पादन गर्ने उद्योगहरु पनि एक पछि अर्को गर्दै बन्द हुन थालेको लिमिटेडका सञ्चालन विभाग प्रमुख दिलिप श्रेष्ठले बताए ।

हाल देशभरका १० औद्योगिक क्षेत्रभित्र रहेका देशभरका कुल सात सय उद्योगमध्ये अहिले ५० वटा हाराहारी मात्रै सञ्चालनमा रहेको उनको भनाइ छ । ‘अहिले पानी, औषधि र अक्सिजनका उद्योग मात्रै सञ्चालनमा छन्, त्यो भनेको देशभरी ५० वटा जति मात्रै हुन्,’ श्रेष्ठले भने । त्यसबाहेकका बिस्कुट, पिठो लगायतका उद्योगहरुले केही दिनसम्म चलाउने कोसिस गरे पनि देशभरी बढ्दै गएको निषेधाज्ञाका कारण बन्द हुने क्रम बढेको उनले बताए ।

उद्योग सञ्चालनका लागि पहिलेको लकडाउनमा जस्तो पासको व्यवस्था नहुनु, कर्मचारी आफैं डराएुर काममा आउनै नसक्नु र उद्योग परिसरमै कमचारी राखेर काम गर्न सकिने अवस्था नहुँदा उद्योगहरु चल्न नसकेको लिमिटेडले जनाएको छ ।

केही उद्योगहरुले आफ्नो उत्पादन मौज्दात राखेको आधारमा बजारमा पठाइरहेको पनि श्रेष्ठले बताए । मौज्दातले धानुन्जेल अवस्था सहज हुने र त्यो बेलासम्म उद्योग चल्ने अवस्था नबने संकट आउन सक्नेतर्फ श्रेष्ठले सचेत गराए ।

यस पटकको कोभिडमा सीमित अत्यावश्यक बाहेकका उद्योगहरु ठप्प हुन पुगेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बताए । उद्योगहरु नचल्नुको मुख्य कारण संक्रमणको भयावह अवस्था नै रहेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ । देशभरका उद्योगहरु कोभिड अवस्थामा सञ्चालन गर्नेबारे सरकारी नीति स्पष्ट नहुँदा पनि समस्या भएको उपाध्यक्ष श्रेष्ठले बताए । ‘देशैभरका उद्योगहरु बन्द अवस्थामै छन्, यसको पहिलो कारण कोभिड हो, दोस्रो उद्योग सञ्चालनबारे सरकारले स्पष्ट व्यवस्था नगर्नु हो,’ उपाध्यक्ष श्रेष्ठले भने ।

बढी खपत हुने काठमाडौं सहितका शहरहरुमा भएको निषेधाज्ञाले उत्पादनको बजारीकरणमा पनि समस्या सृजना भएको श्रेष्ठले बताए । उद्योग बन्द हुनु, खपत घट्नु, र बजारबाट पैसा उठ्ने सम्भावना पनि कम हुनु अहिलेको अर्को समस्या भएको उपाध्यक्ष श्रेष्ठले बताए । दैनिक उपभोग्य खाद्यान्न र औषधि उद्योगहरुले भने कच्चा पदार्थ अभाव झेल्न सुरु गरेको उनको भनाइ छ ।

सञ्चालनमा रहेका औषधि लगायतका उद्योगहरुको क्षमता पनि ५०÷६० प्रतिशत मात्रै रहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment