Comments Add Comment

ट्वीटरमा नयाँ फिचर, मनपर्ने ट्वीटेलाई नगद सहयोग गर्न पाइने

२५ वैशाख, काठमाडौं । माइक्रो ब्लगिङ साइट ट्वीटरले आफ्नो प्लेटफर्ममा नयाँ फिचर शुरु गरेको छ । ‘टिप जार’ भनिएको उक्त फिचरमार्फत ट्वीटर प्रयोगकर्ताले आफूलाई मनपर्ने कुनै ट्वीटर प्रयोगकर्तालाई नगद टिप दिन सक्नेछन् ।

ट्वीटरको प्लेटफर्ममा अनुपम सिर्जनाहरु पस्किएर संवादलाई जीवन्त राख्नेहरुलाई सहयोग गर्नका लागि नयाँ फिचर सजिलो माध्यम बन्ने ट्वीटरले जनाएको छ ।

तत्कालका लागि ट्वीटरले निश्चित पत्रकार, विज्ञ, गैरनाफामूलक प्रयोगकर्तालगायतका लागि यो टिप प्राप्त गर्न पाउने फिचर शुरु गरेको छ । यद्यपि ट्वीटरको टिप जार फिचरले प्रयोगकर्ताका इमेल ठेगाना लगायतका सूचनाहरु एक्सपोज गरिदिएको भन्दै ट्वीटरको आलोचना भएको छ ।

टिप जार फिचरअन्तर्गत प्रयोगकर्ताको प्रोफाइलमा एउटा सानो आइकन थपिएको छ । तत्कालका लागि यो फिचर मोबाइल प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । मोबाइलको ट्वीटर एपमा युजर प्रोफाइलको ड्रपडाउन मेन्यूमा  उक्त टिप जार फिचर रहेको छ, जहाँ अनलाइनमार्फत पैसा पठाउने पेपल, भेन्मो तथा क्यास एपलगायतका भुक्तानी प्रदायकहरुको लिंक दिइएको छ ।

यसका साथै टिप जार फिचरमार्फत संगीत क्षेत्रमा लोकप्रिय प्लेटफर्म ‘ब्याण्डक्याम्प’ तथा डिजिटल सर्जकका लागि लोकप्रिय प्लेटफर्म ‘प्याट्रिओन’मा समेत भुक्तानी गर्न सकिनेछ ।

तेस्रो पक्षको माध्यमबाट रकम पठाइने भएको हुँदा खासगरी पेपलबाट रकम पठाउँदा रकम दिने मानिसको ठेगाना प्रापकले थाहा पाउने भन्दै कतिपय प्रयोगकर्ताले ट्वीटरलाई सूचित गरेका छन् ।

साइबर सेक्युरिटी विज्ञ राचेल टोब्याकले यस विषयमा कुरा उठाएपछि ट्वीटरका अधिकारीले धन्यवाद दिंदै पेपलले प्रयोगकर्ताका सूचनालाई कसरी राख्दछ भन्ने कुरामा ट्वीटरको कुनै नियन्त्रण नहुने बताएका छन् ।

टिप जार फिचरमा प्रयोगकर्ताका कुन–कुन विवरण अरुले थाहा पाउँछन् भन्ने विषयमा प्रयोगकर्तालाई जानकारी अध्यावधिक गराइने ट्वीटरले जनाएको छ ।

पेपलले भने ट्वीटरको टिप जार फिचरमा रकम पठाउँदा ‘गुड्स एण्ड सर्भिस’ अप्सनको साटो ‘फ्रेण्ड्स एण्ड फ्यामिली’ अप्सन छनोट गरेमा रकम पठाउने मानिसको ठेगाना प्रापकले नपाउने प्रष्ट पारेको छ ।

तत्कालका लागि निश्चित प्रयोगकर्तालाई मात्र टिप दिन सकिने गरी टिपजार फिचर शुरु गरेको ट्वीटरले निकट भविष्यमै धेरैभन्दा धेरै प्रयोगकर्ताको प्रोफाइलमा यो फिचर थप हुने जनाएको छ ।

यद्यपि पत्रकारका लागि टिप जार फिचर उपलब्ध गराएको विषयमा चासो उत्पन्न भएको छ । स्वतन्त्र तथा निष्पक्ष रहनुपर्ने र समाचारका लागि कतैबाट उपहार लिन नहुने मर्यादामा बस्नुपर्ने पत्रकारले ट्वीटरबाट टिप प्राप्त गर्न सक्ने विषयलाई सञ्चार संस्थाहरुले कसरी लिन्छन् ? भन्ने विषय निकै महत्वपूर्ण रहेको छ ।

यो फिचरले पत्रकारलाई सूचना बेचेर पैसा कमाएको आरोप लाग्नसक्ने कतिपयको ठम्याइ छ ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment