Comments Add Comment

गण्डकीका विपक्षी दल भन्छन् : अब हाम्रो सरकार पक्का भयो !

२६ वैशाख, पोखरा । अविश्वासको प्रस्तावमा मतदान हुने अघिल्लो दिन नै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि विपक्षी दलले मुख्यमन्त्री संसदबाट भागेको प्रतिक्रिया दिएका छन् ।

विगतमा अविश्वासको प्रस्तावको सामना गर्न नसकेर संसद अधिवेशन नै अन्त्य गरेका मुख्यमन्त्रीले फेरि संसद छल्न राजीनामा दिएको उनीहरुको भनाइ छ । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आफूले विश्वासको मत नपाउने निश्चित भएपछि मुख्यमन्त्रीले राजीनामा दिएको बताए ।

‘जसरी संसदबाट भाग्न मुख्यमन्त्रीले अधिवेशन नै अन्त्य गराएका थिए । त्यसै गरी अविश्वासको प्रस्तावका लागि बोलाइएको विशेष अधिवेशनमा संसद फेस गर्न नसकेर राजीनामा दिनुभयो, यो उहाँको कायरता हो,’ नेपालीले भने, ‘यसले उहाँ फेल भइसक्नुभयो । हाम्रो नेतृत्वमा सरकार बन्ने पक्का भइसक्यो ।’

गण्डकी प्रदेशमा मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वास प्रस्ताव दर्ता गरेका छन् । अविश्वास प्रस्तावमा कांग्रेस संसदीय दलका नेता नेपालीलाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।

मुख्यमन्त्रीले राजीनामा दिएसँगै प्रदेश प्रमुख सीता पौडेलले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् । तोकिएको अवधिभित्रै बहुमत पुर्‍याएर नयाँ सरकार बनाउने सांसद नेपालीले बताए । ‘कांग्रेस, माओवादी, जसपा र जनमोर्चा गरी हामी ३१ जना सांसद नै उनको विपक्षमा थियौं । उहाँ (मुख्यमन्त्री गुरुङ)ले संसदमा फेस गर्न नसके पनि बहुमत पुर्‍याएर हामी नयाँ सरकार बनाउँछौं,’ नेपालीले भने, ‘त्यसको लागि तयारी भइसकेको छ ।’

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले अविश्वासको प्रस्ताव दर्ता भइसकेपछि मुख्यमन्त्रीले संसदको सामना गर्नु उचित हुने बताए ।

‘राजनीतिक अंकगणितमा तलमाथि होला तर संसद छल्ने काम गर्नुहुन्न है भनेर मैले नै मुख्यमन्त्रीलाई भनेको थिएँ । धेरैले लुम्बिनी प्रदेशकै घटना दोहोरिने भनिरहेका छन् तर यहाँ त्यस्तो हुन्न,’ नेता चुमानले भने, ‘यहाँ एमाले अल्पमतमा छ । त्यसैले अब नयाँ सरकार बन्ने पक्का भयो ।’

सांसद चुमानले अब प्रदेशसभाको बहुमत ३१ सांसदको समर्थन लिएर प्रदेश प्रमुख समक्ष जाने बताए । ‘३१ पुग्छ भनेर नै हामीले अविश्वासको प्रस्ताव दर्ता गराएका हौं,’ चुमानले भने, ‘तर पनि उहाँ (मुख्यमन्त्री) सिधा बाटो नहिँडेर संसद छलेर बाँगो बाटो हिँड्नुभयो । यो नै उहाँको हार हो ।’

जनता समाजवादी पार्टीका सांसद हरिशरण आचार्यले पनि अविश्वासको प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन राजीनामा दिनु राजनीतिक संस्कार नभएको बताए ।

‘संसदमा आफूमाथिको अविश्वासको प्रस्ताव फेस गर्न नसकेर हठात राजीनामा दिनुभयो, जसले घाटा उहाँलाई नै हो । यो राजनीतिक संस्कार होइन,’ आचार्यले भने ।

राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले नयाँ बन्ने सरकारलाई नै पार्टीको समर्थन रहने बताइन् । ‘पार्टीको नीति नै विपक्षीमा उभिने भएकाले अब पनि नयाँ बन्ने सरकारलाई नै समर्थन रहन्छ,’ थापाले भनिन्, ‘अविश्वासको प्रस्ताव जसरी पेश भएको थियो, त्यसरी नै नयाँ सरकार बन्छ ।’

गण्डकीमा प्रदेशसभाको ६० सदस्यमध्ये बहुमत सदस्य आफ्नो पक्षमा देखाउने दलको नेता मुख्यमन्त्री नियुक्त हुनेछ ।

गण्डकी प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ जना सांसदले वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराउँदै विशेष अधिवेशनको माग गरेका थिए । ३ सांसद रहेको राष्ट्रिय जनमोर्चाले पनि विपक्षी गठबन्धनलाई साथ दिने निर्णय गरेको थियो ।

अविश्वासको प्रस्ताव आउने सुइँको पाएपछि मुख्यमन्त्री गुरुङले अघिल्लो दिन मध्यरातमै संसदको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए । तर, विपक्षी दलले विशेष अधिवेशन माग गरेपछि तत्कालिन प्रदेश प्रमुख अमिक शेरचनले १३ गतेका लागि विशेष अधिवेशन आह्वान गरेका थिए ।

१३ गते नै मुख्यमन्त्रीविरुद्ध विपक्षी दलका प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले संसदमा अविश्वासको प्रस्ताव पेश गरेका थिए । १५ गते मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्तावमा मतदान हुने कार्यसूची तयार भइसकेपछि जनमोर्चाका सांसद खिमबिक्रम शाही सम्पर्कविहीन बने ।

जनमोर्चाकी सचेतक पियारी थापाले आफ्नो संसद हराएकाले बैठक रोक्न निवेदन दिएपछि सभामुख नेत्रनाथ अधिकारीले अर्को सूचना नआउँदासम्मका लागि वैठक स्थगित गरिदिएका थिए ।

पटक पटक सभामुख अधिकारीको प्रयासपछि सर्वदलीय बैठकले वैशाख २७ गतेका लागि बैठक तय भएको थियो । सोमबार अविश्वासको प्रस्तावमाथि मतदान गर्न प्रदेश सभामा तयारी भइरहेका बेला मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।

गण्डकीमा एमालेका २७ सांसद छन् । स्वतन्त्र हैसियतमा चुनाव जितेका दीपक मनाङले युवा तथा खेलकुद मन्त्री बन्दै एमालेलाई नै समर्थन गरेको पत्र आइतबारै प्रदेश सभामा दर्ता गराएका थिए । मुख्यमन्त्रीको पक्षमा यसरी २८ मत थियो ।

कांग्रेसका १५, माओवादीका १२ (सभामुखसमेत), जसपाका २ र जनमोर्चाका ३ सहित विपक्षीतर्फ ३१ मत छ ।
नेकपा एमालेका सांसद किरण गुरुङले नयाँ सरकार बन्न सजिलो नरहेको बताएका छन् ।

आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका गुरुङले भने, ‘अब कसले कसरी नयाँ सरकार गठन गर्छ हेरौंला, सबको क्षमता नाप्ने ढोका खुलेको छ ।’

राजीनापछि वक्तव्य निकाल्दै मुख्यमन्त्री गुरुङले सयौं चोट बञ्चरोले बिर्सन सके पनि रुखलाई आफ्नो चोट जीवनभर याद रहने टिप्पणी गर्दै विगतको सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रप्रति आक्रोश पोखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

ट्रेन्डिङ

Advertisment