
२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत माग्दा जनता समाजवादी पार्टीका दुई अध्यक्षले फरक फरक धारणा राखेका छन् ।
सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले तटस्थ रहने बताए भने अर्का अध्यक्ष उपेन्द्र यादवले विपक्षमा मत दिने बताए ।
प्रधानमन्त्रीले विश्वासको मत मागेपछि संसदमा रहेका दलको तर्फबाट एक जना शीर्ष नेतालाई बोल्न दिइएको थियो । तर जसपाका भने अध्यक्षद्वय ठाकुर र यादव दुबै जनाले धारणा राखे ।
अध्यक्ष ठाकुरले आफूहरु प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा पनि नभएको र विपक्षमा पनि नभएको बताए । ‘प्रस्तावको पक्षमा पनि छैन र विपक्षमा पनि छैन । किनभने हामी राजनीतिक रुपमा पीडित छौं । हाम्रो सांसद जेलमा छन् । रेशम चौधरीलाई यहाँ देख्न चाहन्छौं । तर उहाँ जेलमा हुनुहुन्छ’, ठाकुरले भने ।
अर्का अध्यक्ष यादवले भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने बताए । ‘संसद असंवैधानिक तरिकाले विघटन गरिदिनुभयो । जनता सडकमा आए । सर्वोच्चले पुनर्स्थापित गरिदियो । जुन संसदमा उहाँको विश्वास छैन, कसरी मत दिने ?,’ यादवले भने ।
प्रधानमन्त्री ओली संघीयता र समानुपातिक/समावेशिता विरोधी भएको यादवले बताए । उनले संघीय गणतन्त्रलाई नै प्रधानमन्त्री ओलीले धरापमा पार्न लागेकाले पनि समर्थन जनाउन नसकिने बताए ।
पार्टीभित्र विवाद भएका कारण जनता समाजवादी पार्टीले प्रधानमन्त्रीले विश्वासको मत माग्दा सांसदले विवेक प्रयोग गर्ने निर्णय गरेको छ । महन्थ ठाकुर-राजेन्द्र महतो पक्षले तटस्थ रहने निर्णय गरेको छ भने बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षले विपक्षमा मत दिने बताएको छ ।
प्रतिक्रिया 4