Comments Add Comment

धनगढीमा ग्यास उद्योगको मेसिन बिग्रिएपछि अक्सिजनको थप हाहाकार

२८ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा अक्सिजन नपाएर कोरोना संक्रमितले अकालमै ज्यान गुमाइरहेका बेला प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको मालिका ग्यास उद्योगको अक्सिजन प्लान्ट बिग्रिएको छ ।

दैनिक एक सय ५० देखि एक सय ८० सिलिन्डर अक्सिजन उत्पादन क्षमता भएको मालिका ग्यास उद्योगको अक्सिजन प्लान्ट सोमबार राति बिग्रिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले प्रदेशमै रहेको एक मात्र ग्यास उद्योगको प्लान्ट बिग्रिएपछि अक्सिजन आपूर्तिमा थप समस्या सिर्जना भएको बताए ।

‘यहाँका अस्पतालहरुमा अक्सिजन अभाव भइरहेका बेला मालिका ग्यास उद्योगले केही हदसम्म भएपनि धानेको थियो,’ सूचना अधिकारी जोशीले भने, ‘तर सोमबार राति मेसिन बिग्रिएपछि उत्पादन रोकिएको जानकारी सञ्चालकले गराएका छन् । अब थप समस्या सिर्जना हुने देखियो । मर्मतका लागि भारतबाट जनशक्ति ल्याउनुपर्ने भएकाले त्यसका लागि हामीले पहल थालेका छौँ ।’

जोशीका अनुसार अहिले नेपालगञ्जबाट थप अक्सिजन सिलिन्डर ल्याउने प्रयास भइरहेको छ । मालिका ग्यास उद्योगले प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पताललाई अहिले दैनिक ३० देखि ४० सिलिन्डर अक्सिजन उपलब्ध गराइरहेको थियो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले मालिकाले उपलब्ध गराउने कम्तीमा ४० सिलिन्डर, सेतीकै अक्सिजन प्लान्टबाट ६० सिलिन्डर गरेर दैनिक एक सय सिलिन्डरको जोहो धनगढीमै भइरहेको बताए ।

‘हामीलाई कोरोना संक्रमितका लागि अहिले दैनिक डेढ सय सिलिन्डर अक्सिजन आवश्यक पर्छ,’ सूचना अधिकारी श्रेष्ठले अनलाइनखबरसँग भने, ‘मालिकाबाट ४० र हाम्रो ६० गरेर सय सिलिन्डर सम्म व्यवस्थापन भइरहेको थियो । बाँकी नेपालगञ्जबाट ल्याएर जसोतसो काम चलाइरहेका थियौँ । अब मालिकाको प्लान्ट बिग्रिएका कारण समस्या हुने भयो ।’

सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा अहिले ५९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उनीहरु मध्ये १३ जनाको आईसीयू, ५ जनाको भेन्टिलेटर, ३६ जनाको अक्सिजन सर्पोट र ५ जनाको आवश्यकता अनुसार अक्सिजन दिएर उपचार भइरहेको अस्पतालले जनाएको छ । इमरजेन्सी वार्डमा ३३ जना उपचाररत छन् । उनीहरु सबैलाई अक्सिजन दिएर राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment