Comments Add Comment

डच कप्तान भान डाइकले युरोकप नखेल्ने

२९ वैशाख, काठमाडौं । नेदरल्याण्ड्सका कप्तान तथा इंग्लिस क्लब लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकले अर्को महिनादेखि सुरु हुने युरोकप फुटबल नखेल्ने भएका छन् ।

घुँडामा लागेको चोटका कारण अहिले रिह्याबमा रहेका भान डाइकले मिनी विश्वकपको रुपमा चिनिने युरो गुमाउने भएका हुन् ।

गत अक्टोबरमा घाइते भएयता पहिलो पटक लिभरपुल क्लबको आधिकारिक वेबसाइटसंग अन्तर्वार्ताका क्रममा भान डाइकले बुधबार आफूले युरोकप नखेल्ने पुष्टी गरे ।

‘७ महिनाअघि घाइते भएँ र धेरै समय बितेको छ । मैले युरोकपमा नजाने निर्णय गरेको छु र शारीरिक रुपमा मलाई यो सही निर्णय लागेको छ’ भान डाइकले एक समाचार वेबसाइटसंग भने, ‘अफसिजनमा म अन्तिम चरणको रिह्याबमा हुनेछ र पूरा ध्यान क्लबको प्रिसिजनको लागि केन्द्रित हुनेछु र त्यो नै ठीक लक्ष्य हुनेछ । म त्यसैमा ध्यान दिइरहेको छु ।’

भान डाइकले युरोकप गुमाउँदा आफू निराश हुनेसमेत बताए । ‘निश्चय नै आफ्नो देशको नेतृत्व गर्दै युरोकप खेल्ने अवसर गुमाउँदा म निराश हुनेछु । तर चिजहरु यस्तो छ जुन मैले स्वीकार्नुपर्छ र हामी सबैले यसलाई स्वीकार्नुपर्दछ’ भान डाइकले भने, ‘मेरो विचारमा युरोकपमा नजानु सही निर्णय हो । यो कठिन छ तर म यसमा मौन छु ।’

गत अक्टोबरमा मर्सीसाइड डर्बी अन्तर्गत एभर्टनविरुद्धको खेलमा भाइन डाइकलाई घुँडामा चोट लागेको थियो र पछि उनको घुँडाको लिगामेन्टको शल्यक्रियासमेत गरिएको थियो । एभर्टनको गोलकिपर जोर्डन पिकफोर्डको ट्याकलमा भान डाइकलाई घुँडाको चोट लागेको थियो ।

भान डाइकको अनुपस्थितिमा प्रिमियर लिगको साविक विजेता लिभरपुल यस पटक छैटौं स्थानमा छ र अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुनका लागि संघर्षरत छ ।

२९ वर्षीय भान डाइकले नेदरल्याण्ड्सका लागि ३८ खेल खेल्दै ४ गोल समेत गरेका छन् । उनको अनुपस्थितिमा लिभरपुलकै टिममेट जर्जिनिओ विज्नाल्डमले युरोकपमा नेदरल्याण्ड्सको कप्तानी गर्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment