Comments Add Comment

एमालेको विवाद हल गर्न कार्यदल बनाउने सहमति

३० वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टीभित्रको विवाद हल गर्न कार्यदल बनाउने सहमति भएको छ । बिहीबार दिउँसो दुई बजेदेखि चार घण्टा भएको छलफलमा ओली र नेपाल विवाद समाधानका लागि कार्यदल बनाउन सहमत भएका हुन् ।

छलफलमा नेता नेपालले आफूले राखेको ६ बुँदे प्रस्तावबाट पछि नहट्ने अडान लिएका थिए । तर ओली त्यो शर्तमा सकारात्मक भएको नेता नेपालले दावी गरेका छन् । ‘मैले २ जेठ २०७५ कै पार्टी कमिटी, विधान र नेतृत्वमा फर्कनुपर्ने तथा २८ फागुनयता भएको निर्णय फिर्ता गर्नुपर्ने कुरा राखेँ’ नेता नेपालले भने, ‘यसमा सकारात्मक जवाफ आएको छ ।’

नेपाल समूहले राखेको शर्त र अध्यक्ष ओलीले लिंदै आएको अडानबीच सहमति जुटाउने जिम्मा भने कार्यदललाई दिइने भएको छ । ‘कार्यदलले नै त्यो सबै काम गर्छ । अब कार्यदल बन्छ’, नेपालले भने ।

काठमाडौंको चपलीस्थित व्यवसायी रामेश्वर थापाको घरमा ओली र नेपालबीच भएको वार्ता पछि नेपाल समूहको सामूहिक राजीनामा तत्काललाई टरेको छ । ‘अब कार्यदलले सहमतिको प्रस्ताव ल्याउँछ, त्यसै आधारमा थप निर्णय हुन्छ’, उनले भने । ओलीले २८ फागुनमा नेपाल समूहका नेताहरुलाई भूमिकाविहीन बनाउने गरी जिम्मेवारी हेरफेर गरेका थिए । त्यस्तै नेता नेपालसहित चार नेतालाई कारबाही गरेका थिए ।

बिहीबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरेको कारबाही फिर्ता लिने निर्णय लिएको थियो । बालुवाटारमा बसेको बैठकले पार्टी विवादका विषयमा थप निर्णयको अधिकारसमेत अध्यक्ष ओलीलाई दिएको थियो ।

त्यस्तै बिहीबार बिहान बसेको नेपाल समूहको बैठकले पनि वार्तामा जाने निर्णय गरेको थियो । तर २ जेठ २०७५ को अवस्थामा पार्टी लैजाने अडानबाट पछि नहट्ने निष्कर्ष पनि निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment