Comments Add Comment

आउँदा दिन अझ कठिन हुनेछन् …

३० वैशाख, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पाताल, टेकुको आकस्मिक कक्षमा बिरामी लिएर आएकाहरुलाई ओत लाग्ने ठाउँ होस् भनेर मूलढोकाको दायाँ बायाँ जस्तापाताको छानो हालिएको छ ।

केही थान कुर्सी राखिएको यो ठाउँ हिजोआज कोरोना संक्रमितहरुले भरिएका छन् । कोही म्याट ओछ्याएर सुतेका छन्, कोही आफन्तको सहयोगमा बसेका छन् । त्यहाँ नअटेकाहरु बलेसीमा बेञ्ची र कुर्सीमै बसिरहेका छन् । सबैको छेउमा अक्सिजन सिलिण्डर छ र पाइप लगेर कसैको नाकमा नोजल प्रोङ लगाएका छन्, कसैले मास्क लगाएका छन्, केहीलाई रिजर्बर ब्याग भएको अक्सिजन मास्क दिइएको छ ।

उनीहरु सबैको एउटा आश छ, बेड पाए अस्पताल भवनभित्र जान पाइन्छ कि ? बेलाबेला अस्पतालका चिकित्सक तथा नर्सहरु आउँछन्, उनीहरुको अवस्था हेर्छन् र भन्छन्, बेड खाली भए भित्र लैजान हुन्थ्यो !

****

डा. अनुप बास्तोलासहितका स्वास्थ्यकर्मी आए र, गेट छउेमै बसेकी महिलालाई चेन गेटबाट भित्र इमर्जेन्सी वार्डमा लगे । अर्थात् उनले बेड पाइन् ।

अस्पतालको गेटमा कुर्दाकुर्दा भए पनि बेड त पाइनेरहेछ नि ! यो खुसी तब भंग भयो, जब छेउको आईसीयू कक्ष बाहिर एक महिलाको चीत्कार सुनियो । अस्पताल प्रशासनका अनुसार उनका श्रीमान् कोरोना संक्रमित थिए । आईसीयूमा उपचारका क्रममा बुधबार दिउँसो मृत्यु भयो ।

आईसीयूमा उपचाररत संक्रमितको मृत्यु हुँदा खाली भएको बेडमा इमर्जेन्सी वार्डमा रहेका गम्भीर बिरामीलाई सारियो । अनि, त्यहाँ खाली भएको बेडमा इमर्जेन्सी वार्डको गेट बाहिर रहेकी महिलालाई लगिएको रहेछ ।

अस्पतालका सबै बेड संक्रमितले भरिएका छन् । आईसीयू युनिटको शय्या २० बाट २४ बनाइएको छ । ५ बेडको आईसोलेसन क्याबिनलाई १० बेड बनाइएको छ । कोभिड वार्डको बेड २९ बाट बढाएर ३२ पुर्‍याइएको छ । ८ बेडको इमर्जेन्सीमा २५ बेड राखिएको छ । बेड अट्ने कुनै ठाउँ खाली छाडिएको छैन, जसोतसो बिरामीलाई राखिएको छ ।

सबै बेड भरिएपछि बिरामीलाई इमर्जेन्सी कक्षको गेटबाहिरै अक्सिजन सपोर्ट दिएर राखिएको छ । अब त्यही गेट बाहिर अक्सिजन सपोर्ट लिएर बस्छु भन्दा पनि ठाउँ पाउने अवस्था छैन । हरेक दिन थुप्रै बिरामी फर्किएका छन् ।

सीमित बेडमा मात्र सेन्ट्रल लाइनमार्फत अक्सिजन वितरण भएको छ, बाँकीलाई सिलिण्डरबाट दिइएको छ । कतिपयलाई त १५ लिटरसम्म अक्सिजन दिनुपर्छ । उनीहरुले प्रयोग गरिरहेको अक्सिजन सकिएपछि सिलिण्डर फेर्न भ्याईनभ्याई हुने अवस्था आइसक्यो । ‘संक्रमितहरु यति धेरै बढेको छ मानव स्रोतसाधनले नभ्याउने भइसक्यो । तापनि सकेजति व्यवस्थापनमा जुटेका छौं’ अस्पतालका डा. अनुप बास्तोला भन्छन् ।

डा. बास्तोलाका अनुसार महामारीको पहिलो लहरमा सिकिस्त बिरामीको संख्या कम थियो । ज्वरो, खोकीजस्ता सामान्य लक्षण भएका वा त्यो पनि नभएका संक्रमितलाई आइसोलेसनमा राखिएको थियो । ३/४ लिटर अक्जिसन चाहिने बिरामीलाई आईसीयूमै राखेर उपचार गरिएको थियो ।

‘यसपालि जुन हिसाबले संक्रमितको संख्या बढ्यो, त्यही हिसाबले गम्भीर संक्रमित पनि बढे’ डा. बास्तोला भन्छन्, ‘अस्पतालहरु सिकिस्त संक्रमितले भरिएका छन् । हाम्रो सीमित सुविधा, अस्पतालका शय्या, आईसीयू बेड र जनशक्ति अहिलेको अवस्थामा निकै ठूलो चाप भयो ।’

टेकु अस्पतालको अवस्थाले पनि त्यही भन्छ । आईसीयू र भेन्टिलेटरमा अलि जटिल अवस्थाका बिरामी छन् । कोभिड वार्डमा भएका बिरामी पनि कुनै पनि बेला सिकिस्त हुनसक्छन् । इमर्जेन्सी वार्डमा भएका धेरै संक्रमितलाई त तत्काल आईसीयू वा भेन्टिलेटरमा राखेर उपचार दिनुपर्ने अवस्था छ । तत्काल भेन्टिलेटरमा राखेर उपचार नगरे कुनै पनि बेला मृत्यु हुनसक्छ । त्यो जान्दाजान्दै पनि चिकित्सकहरु उपायविहीन छन् ।

किनकि न टेकूमा आईसीयू/भेन्टिलेटर खाली छ, न अन्य अस्पतालमा । चिकित्सकहरुका अनुसार अहिले अस्पतालमा जति पनि बिरामी छन्, सबै गम्भीर अवस्थाका छन् । टेकुको आईसीयू/भेल्टिलेटरमा रहेका केही बिरामीको अवस्था सुधार भइरहेको छ । तर धेरै बिरामी सिकिस्त छन् । उनीहरुलाई कम्तीमा पनि ८/१० दिन त्यही राखेर उपचार गर्नुपर्ने हुन्छ ।

यसले धेरै अस्पतालहरुमा कुनै संक्रमितको मृत्यु भएमा मात्र अर्को गम्भीर बिरामीले आईसीयू/भेन्टिलेटर पाउनेजस्तो पीडादायक अवस्था देखिन्छ । त्यसलाई स्वीकार गर्दै डा. बास्तोला भन्छन्, ‘कुनै संक्रमित डिस्चार्ज भएमा वा मृत्यु भएमा मात्र अर्को संक्रमितले बेड पाउने सम्भावना रहन्छ ।’

उनी र उनीजस्तै चिकित्सकहरुलाई यो पनि थाहा छ कि आउँदा दिन अझ कठिन हुनेछन् ।

कोरोनाको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएको छ र, घरघरमा संक्रमण पुगेको छ । किनकि हरेक दिन ८/९ हजार नयाँ संक्रमित थपिएका छन् । होम आइसोलेसनमा बसेकाहरुको राम्रो निगरानी हुनसकेको छैन, जसले गर्दा सिकिस्त भएपछि अस्पताल आउने बिरामी बढेका छन् ।

यसरी आउने हरेक बिरामीको अपेक्षा सकेसम्म बेडमा राखिदेओस्, बेडमा राखेपछि ठीक नभएसम्म डिस्चार्ज नगरिदेओस् भन्ने अपेक्षा हुने गरेको भन्दै डा. बास्तोला भन्छन्, ‘जुन हामीले आजकै दिनबाट दिन नसक्ने अवस्था छ ।’

किनकि स्वास्थ्य संस्थाहरु गम्भीर बिरामीले भरिसकेका छन् र, थप बिरामी संरचनाले धान्न सक्दैन ।

****

महामारीको दोस्रो लहर अझ खतरनाक हुन्छ भनेर चिकित्सकहरुले बेलैमा घचघच्याएका हुन् । तर सरकारको प्राथमिकतामा पूर्वतयारी पर्दै परेन । पहिलो लहरका बेला आफैंले गरेका घोषणा तथा निर्णय कार्यान्वयनमा तदारुकता देखाएनन् । बरु महामारी फैलाउन सघाउ पुग्ने गरी राजनीतिक सभा–सम्मेलनदेखि धार्मिक यात्रासम्म भयो ।

परिणाम महामारी बढेसँगै अहिले अस्पतालमा बेड मात्र होइन, अक्सिजन नपाएर संक्रमितहरुले ज्यान गुमाउनुपर्ने अवस्था आइसकेको छ । चिकित्सकहरुका अनुसार अहिले अवस्था निकै जटिल भइसकेको छ ।

तर अब केही गर्न सकिंदैन भन्ने चाहिं होइन । उनीहरुका अनुसार होम आइसोलेसनमा बसेकाहरुको निगरानीलाई प्राथमिकता दिनु अनिवार्य छ । यसका लागि चिकित्सक नै चाहिन्छ भन्ने पनि होइन । ठूलो संख्यामा रहेका नर्सलाई यो जिम्मेवारी दिन सकिन्छ । स्थानीय तहले हरेक संक्रमितको लगत राख्ने र हरेक दिन टेलिफोनमार्फत उनीहरुको अवस्था बुझ्ने गर्नुपर्छ ।

लक्षण देखिएको छ भने ४/५ दिनमा छातीको एक्सरे गर्ने हो भने निमोनिया भएको वा नभएको हेर्नुपर्छ । निमोनिया हुन लागेको छ भने तत्काल अस्पताल भर्ना गरेर थप उपचार गर्नुपर्छ । यसले गम्भीर अवस्थामा अस्पताल पुग्ने र भेन्टिलेटर चाहिने बिरामीहरुको संख्या मात्र घट्ने छैन, मृत्युदरलाई पनि कम गर्नेछ ।

यसरी होम आइसोलेसनमा बसेकाहरुकाे निगरानी गर्दा अस्पताल भर्ना गर्नुपर्ने संक्रमितको संख्या पक्कै बढ्छ । उनीहरुका लागि अक्सिजन बेड चाहिन्छ । यसका लागि मेडिकल कलेजहरुका संरचना र जनशक्ति प्रयोग गर्न सकिन्छ, अक्सिजन चाहिं सरकारले उपलब्ध गराउनुपर्छ ।

वीर लगायतका ठूला अस्पतालमा भएका दक्ष जनशक्तिलाई उपयोग गर्ने रणनीति बनाउन पनि सरकार चुकेको जनस्वास्थ्यविद् बताउँछन् । एक चिकित्सक भन्छन्, ‘नर्सहरुलाई हायर गर्ने र त्यस्ता चिकित्सकहरुलाई जिम्मेवारी दिएर ४/५ सय बेडको युनिटहरु चलाउन किन सकिन्न ?’

गम्भीर अवस्थाका बिरामीहरुका लागि चाहिने भेन्टिलेटर जुटाउन पनि सरकारले चासो नदिएको कतिपय सरकारी चिकित्सकहरु बताउँछन् । पछिल्लो समय केही एचडीयू बेड थपिए पनि यो अहिले पर्याप्त छैन । एक चिकित्सक भन्छन्, ‘बजारमा भएको सबै भेन्टिलेटर उठाएर अस्पतालहरुलाई दिए पनि थप केही मानिसलाई बचाउन सकिन्थ्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment