Comments Add Comment

प्रधानमन्त्रीले भने : उद्घाटन धेरै हुँदा कतिपय मान्छे आत्तिए

३१ वैशाख, काठमाडौं । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गोदावरीमा बनेको गोदावरी सनराइज सम्मेलन केन्द्रको उद्घाटन गरेका छन् । बालुवाटारमा भएको कार्यक्रम मार्फत स्विच थिचेर भर्चुअल रुपमा सम्मेलन केन्द्रको उद्घाटन गरिएको हो ।

सभाहल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उद्घाटनपछिका उद्घाटनहरूले केही पनि भएन भन्ने केही व्यक्ति आत्तिएको टिप्पणी गरे । ‘उद्घाटन भएको भयै छ, धरहरा बनिसक्यो, पार्किङ र बगैँचा बन्न बाँकी छ, त्यहाँ पनि काम नसकी उद्घाटन भयो भनियो’ उनले भने,’यहाँ पनि त्यही भन्न सक्छन्, बाहिरफेर कति काम बाँकी होलान्, हल पुग्ने बाटो विस्तार हुन बाँकी होला, यस्तै केही भन्लान् ।’

उनले नकारात्मक टिप्पणी गर्ने आदत भएकालाई प्रशंसा गर्न नै नआउने बताए । ‘लुम्बिनीमा ५ हजार जना अट्ने सभाहल उद्घाटन गरेर बुद्ध जयन्तीमा कार्यक्रम गर्छाैं’ उनले भने ।

प्रधानमन्त्रीले उद्घाटन गरेको सम्मेलन केन्द्रमा एकैपटक तीन हजार व्यक्ति सहभागी भएर कार्यक्रम गर्न सकिनेछ । उद्घाटन गरिएको सभाहल अहिले पनि निर्माणाधीन अवस्थामै छ ।

शहरी विकास विभागका अनुसार ९८ प्रतिशत काम भइसकेको छ । विभागका अनुसार २०७६ कात्तिकमा ५ महीनामा सक्ने गरी सभाहल निर्माणको काम थालिएको थियो । सुरुमा ६२ करोड लागतमा ठेक्का लागेको सभा हलमा ८१ करोड खर्च भइसकेको छ ।

केसी-समानान्तर जेभीले ठेक्का पाएको यो सभाहल बनाउन दुई पटक म्याद थप भएको थियो । ४३ रोपनी १५ आनामा बनेको सभाहलमा ३ हजार वटा सिटहरु छन् । दुई वटा साना हलहरु पनि छन् । भीभीआईपी कक्ष पनि छ । पार्किङ र बगैँचा पनि बनाइँदैछ ।

अहिलेसम्म सबै काम नसकिएकाले ठेकेदारले सभाहल सरकारलाई हस्तान्तरण गरेको छैन । यो सभाहल कसले जिम्मा लिएर चलाउने हो भन्ने पनि तय भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment