Comments Add Comment

कर्णालीका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

३ जेठ, सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त दुईजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मा र आन्तरिक मामिला तथा कानून एवं युवा तथा खेलकुदमन्त्री सीताकुमार नेपालीले शपथ लिएका हुन् ।

सोमबार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्री शर्मा र नेपालीलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै शर्मा र नेपालीलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

गत बुधबार मुख्यमन्त्री शाहीले सुर्खेतका सांसद विन्दमान विष्टसहित ३ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए । तर, वैशाख ३ गते सांसदमा मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले दुईवटा मन्त्रालय मागेपछि विष्ट पार्टीको निर्देशन अनुसार पछि हटेको मुख्यमन्त्री निकट एक नेताले बताए ।

गत बुधबार नियुक्त गरेका उनीहरुलाई केही समय जिम्मेवारीविहीन बनाइएको थियो । मुख्यमन्त्रीले आइतबार पुनः मन्त्रीमा नियुक्त गरेपछि शर्मा र नेपालीलाई सोमबार शपथ खुवाइएको हो ।

यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर नेपालीलाई जलस्रोत तथा ऊर्जा विकास र बिन्दमान विष्ट आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेस एक महिना बितिसक्दा पनि सरकारमा सहभागी भएको छैन । कांग्रेसले दुई मन्त्रालयसहित सरकारमा सहभागिता जनाउने भएपनि आन्तरिक विवादका कारणले मन्त्री बन्नेको नाम टुंग्याउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment