Comments Add Comment

दुर्गमका संक्रमितलाई कर्णाली सरकारले हेलिकप्टरबाट उद्धार गर्ने

स्वास्थ्य सामग्री खरिद तथा उद्धारका लागि १३ करोड ८० लाख

फाइल तस्वीर

३ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले दुर्गमका कोरोना संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले भौगोलिकरुपमा विकट रहेको कर्णालीका दुर्गम क्षेत्रका संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय गरेको हो ।

प्रदेशका डोल्पा, मुगु र हुम्लाका जटिल प्रकृतिका संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले जानकारी दिए ।

मन्त्री शाीहका अनुसार जिल्लामा उपचार सम्भव नभएका संक्रमितलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा पुर्‍याइने छ ।

उद्धारका लागि सरकारले निजी सेवा प्रदायक कम्पनीका हेलिकप्टर चार्टर गर्ने जनाएको छ । सरकारले संक्रमित बिरामीको उद्धारका लागि एक करोड बजेट समेत छुट्याएको मन्त्री शाहीले बताए ।

‘दुर्गमका संक्रमितले यसअघि ८/१० लाख खर्चेर हेलिकप्टर चार्टर गरेर सुविधा सम्पन्न अस्पताल लिनुपर्ने बाध्यता थियो । तर, अव त्यो वाध्यता दुर भएको छ,’ उनले भने ।

स्वास्थ्य सामग्री खरिद तथा उद्धारका लागि १३ करोड ८० लाख

कर्णाली सरकारले कोरोना नियन्त्रण, रोकथाम तथा प्रतिकार्यका लागि १३ करोड ८० लाख रूपैयाँ स्वास्थ्य सेवा निर्देशनालयलाई दिने भएको छ ।

विभिन्न स्वास्थ्य सामग्री खरिद तथा हेलिकप्टरबाट गरिने उद्धारका लागि सामाजिक विकास मन्त्रालयमार्फत उक्त रकम दिने निर्णय आइतबारकै बैठकले गरेको मन्त्री शाहीले बताए ।

मन्त्री शाहीका अनुसार अक्सिजन सिलिन्डर खरिद र व्यवस्थापन गर्न ६ करोड ३५ लाख, अक्सिजन कन्स्ट्रेटर खरिदका लागि ५ करोड ४५ लाख, रेम्डेसिभिर लगायतका औषधि खरिद गर्न १ करोड र कोभिडका बिरामीलाई हेलिकप्टरबाट गरिने उद्धारका लागि १ करोड रुपैयाँ दिने निर्णय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment