Comments Add Comment

सप्तकोशी नगरपालिकाकी उपमेयर चौधरीको कोरोना संक्रमणबाट मृत्यु

४ जेठ, सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा एकजना उपमेयरको मृत्यु भएको छ ।  कोरोना संक्रमित सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको उपचारका क्रममा मंगलबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

दुई हप्ताअघि ज्वरो, रुघाखोकी तथा स्वासप्रश्वासमा समस्या देखिएपछि एन्टिजेन परीक्षण गर्दा ४० वर्षीया उपमेयरमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

गर्भवती समेत रहेकी उनलाई थप असहज भएपछि फत्तेपुर मोडल पोलिक्लिनिकमा सामान्य उपचारपछि विराटनगर लगिएको थियो । त्यहाँ १० दिनअघि अस्पताल भर्ना भएकी उनको आईसियुमा राखेर उपचार भइरहेको थियो । उनको गर्भबाट यसअघि नै मृत बच्चा निकालिएको थियो । थप असहज भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको क्रममा उनको मृत्यु भएको हो । मृतक उपमेयरका चौधरीका श्रीमान् र ७ वर्षका एक छोरा छन् ।

यसैगरी सप्तरीको कञ्चनरुप नगरपालिका–४ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मंगलबार बिहान तीन बजे मृत्यु भएको छ । तीन दिनअघि राजविराजस्थित छिन्नमस्ता हस्पिटलमा उपचारका लागि भर्ना भएका ती पुरुषको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

यसअघि सोमबार सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा पाँच जनाको र छिन्नमस्ता अस्पतालमा दुई जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment