Comments Add Comment

दोस्रो लहरको महामारीमा कालो ढुसी बढी देखियो : डा. सिंह

नेपालमा कोरोना संक्रमितमध्ये कतिपयमा म्यूकर माइकोसिस नामको ढुसीजन्य संक्रमण पाइएको छ । यो कालो ढुसीले आँखा, नाकमा असर पार्छ र आँखाको ज्योति हराउने, नाक बाङ्गो हुने जस्ता समस्या पनि देखिएको चिकित्सकहरु बताउँछन् । यो कस्तो खालको समस्या हो भन्ने विषयमा वीरगञ्जको नारायणी अस्पतालमा कार्यरत जनरल फिजिसियन डा. निरज सिंहसँग गरिएको कुराकानी :

कोभिड महामारीमा कतिपय संक्रमितमा म्यूकर माइकोसिस देखियो भन्ने सुनिन्छ । यो कस्तो खालको समस्या हो ?

कोभिड–१९ को बढ्दो संक्रमणसँगै नयाँ नयाँ समस्याहरू देखिइरहेका छन् । जसमध्ये आँखा, नाकमा फंगस अर्थात् ढुसीको इन्फेक्सन देखिएको छ । यसलाई म्यूकर माइकोसिस (mucermycosis) भनिन्छ ।

यो एउटा कालो ढुसीको संक्रमणले देखिने रोग हो । विशेष गरी मधुमेहका रोगी र कोभिड–१९ को संक्रमणको उपचारको क्रममा स्टेरोइड्स (steroids) औषधिको प्रयोग गरिन्छ । स्टेरोइड्सको प्रयोगपछि रगतमा चिनीको मात्रा बढ्ने समूहमा यस्तो समस्या बढी देखापर्छ ।

विज्ञहरूका अनुसार कालो ढुसीको संक्रमण हावामा अवस्थित म्युकोर्मिसाइट्स भनिने मोल्डहरूको समूहले गर्दा हुन्छ । माटोमा, कम्पोष्ट पाइल र सडेको काठमा अर्थात् वातावरणमा नै पाइन्छ ।

संक्रमणपछि बिरामीले सास फेर्दा जुन साइनसको गुहा, फोक्सो र छातीका प्वालहरूमा फैलिन्छ । यद्यपि केही विज्ञहरू  स्टेरोइड्समा उच्च निर्भरता कोभिड केसहरूमा सुजन ( Inflammation) उपचारको लागि प्रयोग गरिएको, पूर्व–अवस्थित कोमोरबिडिटिज, जस्तै मधुमेहले कोभिडबाट पीडित व्यक्तिलाई म्यूकर माइकोसिसको जोखिममा बढी पार्न सक्ने बताउँछन् । दोस्रो चरणको कोभिड–१९ संक्रमणमा यो समस्या बढी देखिएको छ ।

म्यूकर माइकोसिस भएका मानिसमा कस्तो लक्षण देखिन्छ ?

यस फंगल संक्रमणबाट पीडित बिरामीहरू सामान्यतः नाक भरिएका र नाक बग्ने लक्षणहरू हुन्छ । आँखामा सुजन र दुखाइ, पलकको झुकाइ र धमिलो देखिन्छ । अन्त्यमा दृष्टि गुमाउन पुग्छन् भने नाक वरिपरि छालामा कालो धर्साहरु हुन सक्छ ।

नाकबाट रगत बग्छ, बाक्लो सिंगान बग्छ । आँखा सुनिन्छ, आँखा वरपरको भागमा कालो दाग देखिन्छ । आँखा धमिलो देख्छ । टाउको दुख्ने, नाक जाम जस्तो हुने, मुख नै बाङ्गो हुन्छ । हुन त शरीरमा यसको संक्रमण कहाँ छ, त्यसअनुसार फरक फरक लक्षण देखिन्छ ।

यदि संक्रमण साइनस र मस्तिष्कमा बढ्छ भने ज्वरो आउने, एकतर्फी अनुहारको सुजन, टाउको दुख्ने, र नाक वा साइनस जाम हुन्छ । यदि तपाईंको फोक्सो फंगसबाट प्रभावित छ भने, तपाईंमा खोकी लाग्ने, छाती दुख्ने, र सास फेर्न गाह्रो हुने हुन सक्छ ।

जब म्यूकर माइकोसिसले पाचन प्रणालीमा आक्रमण गर्छ, जसले पेटको दुखाइ, बान्ता, र ग्यास्ट्रइन्टेस्टनल रक्तस्राव पनि गराउँछ । छिमेकी मुलुक भारतमा त धेरैमा यस्तो समस्या देखिएको छ । भारतमा कोभिड संक्रमणबाट ठीक भइसकेका मानिसमा पनि यस्तो समस्या देखिएको छ । वीरगञ्जका स्वास्थ्य संस्थामा समेत त्यस्ता बिरामी आउन थालेका छन् ।

चार जनालाई त मैले नै उपचार गरेँ । बारा जिल्लाको एक जना नेता कोभिड पोजेटिभ हुनुहुन्थ्यो । घरमै मेरो सल्लाहमा उपचार गरेर बसिरहनुभएको थियो । सुगर धेरै बढेपछि भेट्न आउनुभयो । त्यही बेलामा मुख बांगो देखेपछि मैले म्यूकर माइकोसिस हो कि भनेर शंका गरे । भर्ना गरेर उपचार शुरु गरें । स्वास्थ्य मन्त्रालयसँगै आग्रह गरेर औषधि मगाएँ, चढाएँ । तर काम लागेन, थप उपचारका लागि काठमाडौं पठाएँ । तर उतै बित्नुभयो ।

अर्को एक जनामा पनि त्यस्तै समस्या देखिएको थियो, कोभिड जाँच गर्न नपाई बित्नुभयो । एक जना ठीक भएर घर जानुभयो । अर्को एक जना थप उपचारका लागि काठमाडौं जानुभएको छ । विभिन्न अध्ययनले पनि संक्रमण पछि जीवन जोखिममा पर्ने देखाएको छ । किनकि यो संक्रमणको मृत्युदर ५०–६० प्रतिशत छ ।

म्यूकर माइकोसिसको उपचार सम्भव छ कि छैन ?

डायविटिजका र कोभिड–१९ संक्रमित बिरामीको आँखा, नाकमा ढुसी जम्छ । ब्रेनभित्र फैलियो भने बिरामीको मृत्यु हुन सक्छ । एकदमै कम पाउने रोग हो । एचआईभी संक्रमित, कन्ट्रोल नभएको डायबिटिजको बिरामीलाई कहिलेकाहीं देखिने गरेको थियो ।

तर कोभिड संक्रमण फैलिएसँगै भारतमा त धेरै देखिएको छ । नेपालमा पनि देखिन थालेको छ । कोभिड र यसको सम्बन्ध के हो भनेर वैज्ञानिकले पत्ता लगाइसकेका छैनन् । कोरोना भाइरस र फंगल इन्फेक्सनको सम्बन्धलाई निकै कौतूहलका साथ वैज्ञानिकहरूले अध्ययन गरिरहेका छन् ।

म्यूकर माइकोसिस गम्भीर संक्रमण हो । कालाजारमा प्रयोग गर्ने एन्टिफंगल औषधिहरु प्रयोग गरिन्छ । एम्फोटेरिसिन बी, पोसाकोनाजोल वा इसावुकोनाजोलसँग उपचार गर्नु आवश्यक छ । यी औषधिले काम गरेन भने शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ।

इन्जेक्सन पाउन त्यति सजिलो छैन । हामीले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई नै फोन गरेर औषधि मगाएका थियौं । धेरै नै कडा संक्रमण भएको खण्डमा मस्तिष्कमा संक्रमण नफैलियोस् भन्ने उद्देश्यले फंगलले भेटेको भाग शल्यक्रिया गरेर हटाउनुपर्छ ।

म्यूकर माइकोसिस कोरोनाभाइरसजस्तै एक व्यक्तिबाट अर्कोमा सर्छ कि सर्दैन ?

फंगल एउटा मानिसबाट अर्कोमा सर्दैन । एकदमै कमजोर शरीरमा देखा पर्ने हो । वीरगञ्जमा पहिला देखिएको थिएन, कोभिड आएपछि नै देखिएको हो । यसमा अर्को समस्या भनेको धेरै बिरामी ढिलो आइपुग्छन्, जब उनीहरूले पहिले नै दृष्टि गुमाइसक्छन् । यो समस्या एउटा ठूलो चुनौतीको रुपमा हामीले सामना गर्नुपर्ने हुनसक्छ । सम्बन्धित सरोकारवालाको समयमै ध्यान जानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुरेश बिडारी

ट्रेन्डिङ

Advertisment